आज दही–च्यूरा खाने पर्व, राष्ट्रिय धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनताको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

हरेक वर्ष असार १५ मा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्‍याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ ।

नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ ।  सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ।

नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् ।

 

Leave a Reply