एक पत्रकारले राजदूतलाई समेत हल्लाउन सक्छ !

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले चीनसँग लिएको ऋणको ब्याजदरबारे सामाजिक सञ्जालमा नेपालका लागि चीनका राजदूतले गरेको टिप्पणीपछि सुरु भएको बहससँगै विदेशी ऋणमा सरकारले थप ब्याज लिएर संस्थानहरूलाई ऋण दिने गरेको विषय चर्चामा छ।

सरकारले चीनको एक्सपोर्ट इम्पोर्ट ‘एक्जिम’ ब्याङ्कसँग दुई प्रतिशत र शून्य प्रतिशत ब्याजदरमा लिएको भनिएको ऋण नागरिक उड्डयन प्राधिकरणलाई पाँच प्रतिशत ब्याजदरमा दिइएको पाइएपछि ‘टक्सार’ म्यागजीनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले यसबारे सामाजिक सञ्जालमा प्रश्न गरेका थिए।

“पोखरा विमानस्थलका लागि लिएको ऋण दुई प्रतिशत ब्याजदरको भन्दै आएका थिए। पाँच प्रतिशत पो रहेछ,” बुढाथोकीले सामाजिक सञ्जाल ‘एक्स’मा गरेको यस्तो पोस्टमा चिनियाँ राजदूत चेन सङले प्रतिक्रिया लेख्दै उक्त कुरा “मिथ्या” भएकाले “औपचारिक माफी” माग्न भने। उक्त टिप्पणीका कारण केही प्रयोगकर्ताले चिनियाँ राजदूतको आलोचना गरेका छन्।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्राधिकरणलाई पाँच प्रतिशत ब्याज तिर्ने गरी दिएको ऋणमध्ये १९ अर्ब ३० करोड ४३ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जाजरकोट भूकम्पको राहत सामग्री लिएर आएका चिनियाँ सैन्य विमान अवतरण गरेका थिए  । महालेखा परीक्षकको प्रतिवेदनअनुसार कुल २२ अर्ब रुपैयाँ लागतमा बनाउने लक्ष्य राखिएको पोखरा विमानस्थलको लागत बढेर २५ अर्ब ३४ करोड रुपैयाँ पुगेको थियो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार दुई प्रतिशत ब्याजदरमा २१ अर्ब रुपैयाँभन्दा बढी रकम र शून्य प्रतिशत ब्याजदरमा थप तीन अर्ब रुपैयाँभन्दा बढी रकम ऋण लिइएको छ।

तर व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसक्दा उक्त विमानस्थल घाटामा रहेको प्राधिकरणले जनाएको छ। सामाजिक सञ्जाल ‘एक्स’मा पत्रकार बुढाथोकीले दुई दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।

सोही पोस्टमा राजदूत सोङले ‘अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट’ भन्दै मंगलबार राति रिप्लाई गरेका थिए । उनले लेखेका छन्, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’

बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफी माग्नुपर्ने माग समेत सोङले गरेका छन् ।

पत्रकार बुढाथोकीले उक्त विमानस्थलका लागि लिईएको ऋणको ब्याज, सेवा शुल्क र शुल्क सहित, कुल खर्च लगभग ५ प्रतिशत हुने अनुमान गरिएको भन्दै लेखेका छन, “मिडिया प्रतिनिधिको हैसियतमा तथ्यलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नु महत्त्वपूर्ण हुन्छ। म कूटनीतिज्ञ वा नेपाल सरकारको आधिकारिक प्रतिनिधि होइन, त्यसैले राजदूतबाट धम्की असहनीय छ।”

बुढाथोकीले आफूले प्रमाणसहित आफूले म्यागेजिन(टक्सार म्यागजिन)मा प्रकाशित गर्ने पनि बताएका छन् । पोखरा विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्सपोर्ट इम्पोर्ट बैंकबाट आरएमबी १ अर्ब ३७ करोड ८७ लाख ऋण प्राप्त गरी ५ प्रतिशत ब्याज तिर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ ।

यस विषयलाई लिएर सामाजिक सञ्जाल तरंगित बनेको छ । राजदूतको सामाजिक सञ्जालमा आलोचना भएको छ । सामाजिक सञ्जालमा पक्षविपक्ष देखिएपनि अधिकांशले चिनियाँ राजदूतको भनाई कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन्। भारतीय वा अमेरिकी राजदूतले यस्तै गरेको भए के हुन्थ्यो भन्ने प्रश्न समेत कयौँले गरेका छन्।