एमालेले प्रचण्डको राजीनामा आजसम्म पर्खने

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न बुधबारसम्मको समय दिने भएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा बुधबार बेलुकीसम्म प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न समय दिनेगरी छलफल भएको एक पदाधिकारीले जानकारी दिए ।

बैठकपछि निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीबाट प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गरिएको निर्णय भएको जानकारी दिए । यद्यपि बैठकमा भने बढीभन्दा बढी २४ घण्टासम्म कुर्ने र त्यतिबेलासम्म पनि राजीनामा नदिए बिहीबार बिहान मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय भएको एक पदाधिकारीले बताए ।

मन्त्रीहरूलाई फिर्ता बोलाएपछि बाँकी निर्णयहरू कसरी गर्ने भन्नेबारे त्यतिबेलै शीर्ष नेताहरू बसेर छलफल हुने ती पदाधिकारीले जानकारी दिएका छन् । ‘हामी बुधबार सम्म कुर्छौ,’ उनले भने ‘त्यति बेलासम्म पनि उहाँले मार्गप्रशस्त गर्नु भएन भने हामी अन्य निर्णय लिन्छौं ।’

यस्तै नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससहितको सरकार बनाउने पहल सुरु गरेको आरोप लगाएको छ । एमालेको सचिवालय बैठकपछि निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव गरेपछि आफूहरूले अहिलेको गठबन्धनको विकल्प खोजेको दाबी गरेका छन् ।

ज्ञवालीले एमाले यही गठबन्धनलाई अगाडि बढाउन प्रतिबद्ध रहे पनि यस पटक प्रचण्डले फेरि कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको सूचना आफूहरूले पाएपछि मात्र यो कदम चालेको बताएका छन् । उनले भने, ‘बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनु भयो, सत्तारूढसँग छलफल नगरी ।

प्रमुख विपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनु प¥यो । उहाँले अहिलेसम्म एमाले जस्तो रचनात्मक सहयोगी पाउनु भएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास ग¥यौ ।’ ज्ञवालीले कांग्रेसले माओवादीसँग सरकार बनाउन तयार नभएको भन्दै एमालेसँग मिलेर जान प्रस्ताव गरेपछि कुरा अगाडि बढेको बताएका छन् ।

Leave a Reply