एमाले सचिवालय बैठक बस्दै

२६ असार, काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, वार्षिक कार्ययोजना, नेताहरुको कार्यविभाजन र सरकार गठनबारेमा केन्द्रित भएर छलफल हुने प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र एमालेबिच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने दुई दलबिच सहमति भएको छ । दुई दलबिच भएको सहमतिका विषयमा समेत सचिवालयमा छलफल हुने विष्टले बताउनुभयो ।

त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ । यसअन्तर्गत जिल्ला र जनसंगठन इञ्चार्जहरू परिवर्तन हुनेछन् ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ । असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो ।

सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन् । उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् । कांग्रेससँगको सहमतिपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत लिने तयारी गरेका छन् । आजको सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ । यस्तै कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरिसकेको छ । पार्टी संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।

Leave a Reply