कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ, वैशाख १२ गते । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका अमिर अल थानी नेपालको भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । कतारी अमिर अल थानीको नेपाल भ्रमण पर्यटनका हिसाबले महत्त्वपूर्ण मानिएको छ । खाडी मुलुकबाटै पहिलो पटक भएको विशिष्ट भ्रमणले नेपालको पर्यटनलाई विश्वबजारमा थप प्रवर्द्धन गर्न टेवा पुग्ने सरोकारवाला बताउँछन् ।