कतारी राजा र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज शिष्टाचार भेट हुँदैछ ।

दुई दिने नेपाल भ्रमणमा रहनुभएका राजाले बुधबार प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गर्न लाग्नुभएको हो । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनेछ । साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने बताइएको छ ।

रराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा कतारका अमिर दुई दिने नेपाल भ्रमणमा आउन लागेको जनाएको छ। दुई जनाबीच भेटवार्ता भएपछि मङ्गलवार नै राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।

औपचारिक वार्तापछि दुवैले दुई पक्षीय सहमति र समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। सरकारकी प्रवक्ता तथा सूचना एवं प्रविधिमन्त्री रेखा शर्माका अनुसार दुई देशले पर्यटन, खेलकुद र सञ्चारसहित विभिन्न मन्त्रालयसँग सम्झौता एवं एमओयू हुने बताइन्।

उनले भनिन्, “दुई देशको मित्रताका हिसाबले दुवै देशलाई फाइदा हुने र मूल रूपमा हामीले भन्दा हामीलाई फाइदा हुने हिसाबले केही सम्झौता गर्छौँ। त्यसले नेपालमा राम्रै छाप छोड्छ।” अमिरको भ्रमणका समयमा नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने तयारी गरेको राजदूत ढकाल बताउँछन्।

भ्रमणका क्रममा हस्ताक्षर गरिने सम्झौता र समझदारीपत्रहरूबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने भनिएको छ।  गत साता सञ्चारसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले विगतमा कामदारको सुरक्षाको कुरा उठ्ने गरेको भए पनि अहिले धेरै कुराहरू सम्बोधन भइसकेको बताएका थिए।

उनको भनाइ छ, “अहिले चाहिँ हामीले हाम्रा कामदारहरूले बढी तलब प्राप्त गरून् भन्ने हो। सुरक्षित वातावरणको कुरा गर्दा अहिले कतारसँग त्यति धेरै मुद्दा छैन।” त्यसबेला कैयौँ अधिकारवादी संस्थाले कामदारहरूको पक्षमा आवाज उठाएका थिए र चर्को अन्तर्राष्ट्रिय दबावमाझ कतारले श्रमसम्बन्धी कतिपय आफ्ना कानुनी प्रावधानमा परिमार्जन गरेको थियो।

सन् २०२१ मा आफ्नो कानुनमा परिमार्जन गर्दै कतारले घरेलु कामदारसहित सबै क्षेत्रका श्रमिकलाई न्यूनतम १,००० कतारी रियाल (हालको दरमा साढे ३६ हजार रुपैयाँ) दिनुपर्ने व्यवस्था गरेको थियो। त्यसबाहेक रोजगारदाताले खाना र आवास उपलब्ध नगराएको खण्डमा थप ८०० रियाल (हालको दरमा २९ हजार रुपैयाँभन्दा बढी) कामदारलाई दिइनुपर्ने नियम ल्याएको थियो।

सन् २०२२ को विश्वकप फुटबलका लागि रङ्गशाला र अन्य पूर्वाधारहरू निर्माण गर्दा कतारमा नेपालीसहित कैयौँ विदेशी कामदारको ज्यान गएका विवरण सार्वजनिक भएका थिए। तीमध्ये कैयौँ त्यस्ता मृत्युका कारणहरू नखुलेका भन्दै ह्युमन राइट्स वाच जस्ता अधिकारवादी संस्थाहरूले अझै पनि कतार सरकारको आलोचना गर्ने गरेको पाइन्छ।

कतार सरकारले अहिले कामदारहरूले न्यूनतम ज्यालाको सुविधा पाएको, रोजगारदाता फेर्ने स्वतन्त्रता पाएको, न्यायको खोजीमा उजुरी गर्ने संयन्त्रहरूमा पहुँच पाएको र स्वास्थ्य एवं सुरक्षा मापदण्डमा सुधार गरिएको बताउने गरेको छ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट कतार नेपालको भरपर्दो मित्र भएकाले पनि अमिरको भ्रमणले दुई देशबिचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वास गर्नुहुन्छ । रासससँगको कुराकानीका क्रममा अध्यक्ष भट्टले भन्नुभयो, “विगतदेखि नै नेपाललाई खुला हृदयका साथ सहयोग गर्दै आएको कतार पछिल्ला दिनमा विकास र प्रविधिको केन्द्रका रूपमा विकास भएको छ । यसबाट नेपालले लाभ लिनुपर्छ ।”

उहाँका अनुसार वैधानिक तवरबाट कतारमा काम गर्न गएका नेपालीको सङ्ख्या तीन लाख ६४ हजार छ । यस्तै पर्यटक र विद्यार्थी प्रवेशाज्ञामा गएका नेपालीको सङ्ख्या पनि उल्लेख्य छ । एनआरएनका तर्फबाट कतारका अमिरलाई हृदयदेखि नै स्वागत गरिने र नेपालको समृद्धिको साझेदार बन्नसमेत आग्रह गरिने जानकारी दिँदै अध्यक्ष भट्टले फिफा विश्वकपको सफलताका लागि नेपाली समुदायले खेलेको भूमिकालाई त्यहाँको सरकारले आत्मसात् गरेको बताउनुभयो ।

“नेपाली नागरिकलाई कतारले रोजगारीको अवसर प्रदान गरेको छ । नेपालीले श्रम र पसिना पनि बगाएका छन् । त्यसका आधारमा कतारले नेपालका केही महत्त्वपूर्ण परियोजनामा लगानी गरिदेओस् भन्ने मेरो पनि अपेक्षा छ”, अध्यक्ष भट्टले भन्नुभयो ।

यस्तै पर्यटन, शिक्षा तथा सूचना प्रविधिका क्षेत्रमा पनि कतारले मौलिक प्रगति गरेको छ । नागरिक उड्डयनका क्षेत्रमा कतार एयरलाइन्सको आफ्नै विशेष पहिचान बनाएको छ । नेपाल र कतारबिच १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

कतारसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २० वर्षपछि सन् १९९८ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गर्नुभएको थियो । अमिरको उपाधि प्राप्त गर्नुभएका अल थानीको नेपाल भ्रमण आफैमा महत्त्वपूर्ण र विशिष्ट भएकाले पनि यसबाट लाभ लिन सकिने अध्यक्ष भट्टको भनाइ छ ।

कतारकातर्फबाट भने द्विपक्षीय सम्बन्ध कायम भएको ४५ वर्षपछि राष्ट्रप्रमुखको नेपाल भ्रमण हुन लागेको हो । नेपाली नागरिकका लागि सहज वैदेशिक रोजगारीको गन्तव्यका रूपमा कतार स्थापित भएका सन्दर्भमा नेपाल र कतारबिच समयानुकूल श्रम सम्झौता भए थप सहज हुने उहाँको भनाइ छ ।