करमैत्री गाउँपालिका बनाउने लक्ष्य छ

नवलपरासी । हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा अवस्थित छ । साबिकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समितिलाई समेटेर बनाइएको हो । यस गाउँपालिका १८९ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पूर्वमा कावासोती र देवचुली नगरपालिका, पश्चिममा मध्यबिन्दु नगरपालिका र पाल्पा जिल्ला, उत्तरमा बुङ्दीकाली गाउँपालिका र पाल्पा जिल्ला, दक्षिणमा कावासोती र मध्यबिन्दु नगरपालिका पर्छ ।

यस गाउँपालिकामा रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी, दरबारका साथै ताल, पोखरी, मठमन्दिर एवं हरिया डाँडाकाँडा छन् । त्यस्तै लोपोन्मुख घोरल तथा अन्य विविध पशुपन्छीको बासस्थान रहेको हुप्सेकोट गाउँपालिकाको भ्रमण गर्ने जो कोही यसको सुन्दरतामा मोहित हुन्छन् । हुप्सेकोट गाउँपालिकाको समग्र विकासका बारेमा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेसँग गोरखापत्रकर्मी मीना कँडेलले गर्नुभएको कुराकानी :

  • दोस्रो कार्यकाल पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएर काम गर्दा सन्तुष्ट हुनुहुन्छ ? 

पहिलो कार्यकालमा अधुरा रहेका कार्यलाई पूरा गर्नका लागि दोस्रो पटक पनि निर्वाचनमा होमिएको हुँ । आफूले रोजेको मार्गमा नियमसङ्गत रूपमा काम गरेर सन्तुष्टि लिने हो । तोकिएको समयमा भने जस्तो काम गर्न भने सहज महसुस भएको छैन । असहजतालाई सहज बनाई नागरिकको काम गरी सन्तुष्टि लिने गरेको छु । जब काम सफल हुन्छन् तब सन्तुष्टिको सीमा हुँदैन ।

  • गाउँपालिकामा उपलब्धिमूलक काम भए त ? 

विकासको पूर्वाधार र दिगो संरचना निर्माणको अवस्था नाजुक थियो । अहिले यस कार्यले गति लिएको छ । विकास निर्माण हुने क्रममा तीव्रता आएको छ । केही छोटा सडक निर्माण सम्पन्न भइसकेका छन् । छ वटा वडालाई जोड्ने चक्रपथ निर्माणको काम भइरहेको छ । विद्यालय भवन, स्वास्थ्य चौकी, प्रशासनिक गाउँपालिका भवन, वडा कार्यालयका भवन  बनेका छन् । गाउँमा बिजुली बत्ती बलेको छ । गौरवको आयोजनामा रहेको गिरवारी खोलाको ड्याम स्वीकृत भएर निर्माण कार्य अघि बढेको छ । गिरवारी खोलामा एक पक्की पुल निर्माण भएको र अर्काे बन्ने तयारीमा छ । गण्डकी प्रदेशले लिएको एक घर एक धाराको नीति अनुरूप यो गाउँपालिकामा पिउने पानीको अभाव नहोस् भनी यो वर्ष स्वच्छ पानी पु¥याउने लक्ष्य छ । सडक सञ्जाललाई स्तरोन्नति गरी प्रत्येक वडामा एउटा पक्की सडक पु¥याउने उद्देश्य पूरा गर्न लागि परेका छौँ ।

  1. विकासका काममा के कस्ता चुनौती छन् ?  

भौगोलिक विविधता यहाँको चुनौती हो । पहाड र तराई दुवै क्षेत्र पर्ने हुँदा तराई भेगमा भएकाले पाउने सेवासुविधा र पहाडी भेगमा पाउने सेवासुविधामा पनि फरक छ । त्यसलाई मिलाउन कठिन छ । समाजमा अझै पनि सामाजिक चेतनाको कमी छ । पछाडि परेका वर्गलाई एउटै धारमा ल्याउने प्रयास गरेका छौँ । यो काम गर्न पनि चुनौती नै छ ।

  • गाउँपालिकाका प्रभावकारी काम के के छन् ? 

छोरीको सुनौलो भविष्य, किसानलाई अनुदान जस्ता कार्यक्रम प्रभावकारी भएका छन् । छोरीलाई सकारात्मक दृष्टिले हेर्न थालिएको छ । अहिले छोरीको नाममा बैङ्क खाता गाउँपालिकाले खोलिदिएपछि सबैको नजरमा छोरी पनि सन्तान नै हुन् भन्ने भएको छ । समाजमा असल अभ्यास भएकाले समाजमा राम्रो सन्देश दिएको छ । अहिले समाजमा छोरा र छोरीमा भेदभावको अवस्था छैन । अनुदानको कार्यक्रमले खेतीयोग्य जमिन बाँझो हुने क्रम लगभग छैन । देशमा कृषि क्षेत्रबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । त्यसैले यी  कार्यक्रम प्रभावकारी भएका छन् ।

  • शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय काम भयो कि ? 

गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर हरेक वर्षको नीति तथा कार्यक्रममा शिक्षामा जोड गरेका छौँ । कतिपय ठाउँमा विद्यालय समायोजनका कुरा पनि भइरहेका छन् । स्थानीयले हिजो अप्ठ्यारो समयमा खोलेका विद्यालय समायोजन गर्दा क्षति हुन्छ भन्ने गुनासो आएकाले छलफल चलाइरहेका छौँ । विगतमा भन्दा आज शिक्षामा उन्नति भइरहेको छ । सोचे अनुरूप नभए पनि व्यवस्थित बनाएर लैजाने प्रयास भएको छ । शिक्षा राम्रो हुनु पर्छ भन्ने नै हाम्रो मूल विषय हो ।

  • रोजगारी सिर्जनाका लागि पहल गर्नुभएको छ ? 

युवालाई गाउँमा रोजगार दिलाउन उद्यमी बनाउने योजना ल्याएका छौँ  । विदेशबाट फर्केर आएका युवालाई गाउँमा स्वरोजगार बनाउन बैङ्कसँग सहकार्य गरी विदेशमा सिकेको  सिपलाई प्रयोग हुने गरी सहज वातावरण सिर्जना गर्दै छौँ । यसका लागि कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।

  • नयाँ कार्यक्रम के छन् ? 

अधुरा पूर्वाधारका योजना सम्पन्न गर्नतिर लैजान्छौँ । आर्थिक विकासका लागि फरक लक्ष्य लिएर अगाडि बढ्नु पर्छ भनी छलफल चलेको छ । केही दिनमा त्यसको टुङ्गो लाग्ने छ । आर्थिक वृद्धिदर बढाउन र अर्थतन्त्र चलायमान गराउन कृषिलाई प्राथमिकता दिएका छौँ । करको दर घटाउने, दायरा बढाउने र करमैत्री गाउँपालिका बनाउने लक्ष्य छ । सबैलाई कर तिर्न सहज हुने वातावरण तयार गर्दै छौँ ।

स्रोत: यो खबर गोरखापत्रका सहकार्मी मीना कँडेल ले तयार पार्नु भएको हो ।