काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडौं । देशका ७५३ वटा स्थानीय तह मध्ये अधिकांशले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक बाध्यता अनुसार स्थानीय तहले बजेट ल्याएका हुन् ।

स्थानीय तहहरुको बजेट मध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो झण्डै २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

राष्ट्रियसभा गृहमा आयोजित नगरसभा बैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट पेश गरिएको हो ।

उपप्रमुख सुनिता डंगोलले बजेट बक्तब्य पेश गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाले यस अघि नै घोषणा गरेको नीति तथा कार्यक्रम अनुसार बजेट पेश गरेको हो । बजेट पेश गर्नुअघि नीति तथा कार्यक्रम पारित गरिएको थियो । महानगरको बजेटमा ३० वटा स्वर्णिम योजना घोषणा गरिएको छ ।

यसका लागि २ अर्ब बजेट विनियोजन गरिएको छ । यस्तै ११ वटा गौरवका योजना अघि सार्दै ३ अर्ब बजेट छुट्याइएको छ ।