गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरु

प्राकृतिक, सांस्कृतिक, पर्यटकीय तथा साहसिक पर्यटनका हिसाबले महत्त्वपूर्ण गण्डकी प्रदेश हो । प्रदेशभित्रका ११ जिल्ला आआफ्नै विशेषता र फरक फरक पहिचान बोकेका छन् ।

मौलिक कला, संस्कृतिले भरिपूर्ण प्रदेशका ऐतिहासिक सम्पदाहरू यहाँका अमूल्य गहना हुन् । नेपालमा घुमफिरको संस्कृतिले व्यापकता पाउँदै गएको छ । यसरी घुम्नेहरूको समूहको ठुलो सङ्ख्या गण्डकी प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकनका लागि पुग्ने गरेका छन् ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा गत महिना मात्र नेपालको पर्यटकीय राजधानी घोषणा गरियो । गण्डकी प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र मानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा प्रयोग, स्थापित मान्यताहरूको सूक्ष्म विश्लेषण तथा मूल्याङ्कन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी विकास गर्न यथेष्ट आधार देखिएको भन्दै प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठन भएको ११ सदस्यीय समितिले प्रतिवेदन पेस गरेको थियो ।

समितिले सम्पूर्ण अध्ययन पूरा गरेर पर्यटकीय राजधानी घोषणा गरिएको र आगामी दिनमा पर्यटकीय राजधानीको विकासलाई सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचारप्रचार र पर्यटकीय पूर्वाधारहरूको निर्माण गर्नुपर्ने देवकोटाले बताउनुभयो । नीति योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनामा पनि पर्यटन पूर्वाधार विकास, सेवा सुविधाको विस्तार, पाँचतारे होटलहरूको स्थापना गर्न सकेमा भविष्यमा अझ बढी पर्यटक भित्र्याउने सकिने योजना समावेश गरिएको उहाँले बताउनुभयो ।

पोखरा पर्यटकीय राजधानी घोषणापश्चात् यस क्षेत्रका पर्यटन व्यवसायीहरू उत्साहित भएका र पर्यटकको आवागमन उल्लेख्य मात्रामा बढिरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । पर्यटकीय राजधानीले गण्डकी प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा टेवा पु¥याउने उहाँको तर्क छ ।

पर्यटकीय राजधानी जोड्ने प्रमुख सडकमार्गहरू पृथ्वी राजमार्ग र सिद्वार्थ राजमार्गलगायतका राजमार्गको दुरवस्थाले पनि पर्यटकहरूले सास्ती बेहोर्नु परेको छ । त्यसैले प्रदेशमा पर्यटक भित्र्याउन सडक सञ्जालको राम्रो व्यवस्थापन गर्नु अत्यावश्यक छ । यता, अर्बौं रुपियाँ ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसक्नुले पनि पर्यटन बजारमा असर परेको पर्यटन व्यवसायीहरू बताउँछन् । यद्यपि विभिन्न समस्याका बाबजुद पनि प्रदेशभित्र रहेका दर्जनौँ सुन्दर पर्यटकीय गन्तव्यहरूले पर्यटकलाई लोभ्याएका छन् ।

पोखरा 

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा स्वदेशी मात्र होइन विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य बनेको छ । तालको सहर भनेर चिनिने पोखरामा फेवाताल, बेगनास ताल, रूपा ताल पर्यटकका लागि मुख्य आकर्षण हुन् । यस्तै ऐतिहासिक महìव बोकेका मन्दिरहरू विन्ध्यवासिनी, भद्रकाली, तालबराही, शोभा भगवती र पुम्दीकोटको शिव मन्दिर आस्थाका केन्द्रहरू हुन् । कास्कीको पुम्दीभुम्दीको डाँडामा अवस्थित विश्वशान्ति स्तूपा सबैजसो पर्यटक पुग्ने स्थानमध्ये एक मानिन्छ ।

फेवातालमा डुङ्गामा सवार हुँदै सराङकोटबाट साहसिक प्याराग्लाइडिङ र अल्ट्रालाइटमा चरा झैँ उडेर सुन्दर पोखराको दृश्यवलोकन गर्न पर्यटकहरू लालायित हुने गरेका छन् । माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरिसहितका हिमालको स्पर्श गर्दै पोखराबाट नजिकैका घान्द्रुक, धम्पुस र सिकलेससम्म पुगेर पर्यटकीय गाउँ घुम्न सकिन्छ । यसबाहेक महेन्द्र गुफा, डेभिड फल, चमेरे गुफा, गुप्तेश्वर गुफा, हरिहर गुफा, सेती नदी, इन्द्र गुफालगायतका गन्तव्य पनि पर्यटकका लागि घुम्नै पर्ने स्थानहरू हुन् ।

सिरुबारी होमस्टे 

स्याङ्जाको उत्तरी भेग आँधीखोला गाउँपालिकामा पर्ने ग्रामीण पर्यटनको अवधारणामा आधारित भएर स्थापित दक्षिण एसियाकै पहिलो व्यवस्थित घरबास (होमस्टे) दरौँ सिरुबारी हो । सिरुबारी होमस्टेलाई २०४१ सालमा क्याप्टेन रुद्रमान गुरुङले स्थापना गरेका हुन् । समुद्री सतहबाट करिब १६ सय मिटरको उचाइमा रहेको गुरुङ गाउँ हो । यहाँ पुग्ने पर्यटकहरू विशेष गरी रमाउने यहाँको संस्कृति र आतिथ्यता सत्कारमा औधी रमाउँछन् । चिटिक्क परेका परम्परागत शैलीका घर, स्थानीय स्तरमा उत्पादित परिकारको स्वाद चाखिसकेपछि पर्यटकलाई सदैव घाटु, सोरठी, सालैजो, भजन चुड्काबाट मनोरञ्जन प्रदान गरिन्छ । होमस्टे पुगेपछि गुरुङ गुम्बा, गुरुङ सङ्ग्र्रहालय, सिरुबारीको सिरानबाट देखिने धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालले पर्यटकलाई थप मोहित बनाउँछ । यो होमस्टे देशभरका अन्य होमस्टेको पाठशाला बन्दै देशैभर होमस्टेको लहर ल्याउन सफल रह्यो ।

बन्दीपुर 

परम्परागत शैलीका घरहरू, मनमोहक स्थानमा हिमाल हेर्दै टिपिकल नेपाली शैलीको खानपानमा रमाउन तनहुँको बन्दीपुर धेरैको रोजाइमा पर्ने गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको बन्दीपुर पहाडकी रानीको नामले समेत चिनिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका पुराना घरहरूले बनेको बजार क्षेत्रले मन लोभ्याउँछ । नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । यस स्थानका घरमा झ्याल ढोका, टुँडाल, सिँढी आदि काठबाट बनाइएका जसले बन्दीपुरलाई थप सौन्दर्य बनाएको छ । बन्दीपुरको यात्रालाई पूर्ण बनाउनका लागि नजिकै रहेका ऐतिहासिक र धार्मिक थानीमाई, सिद्व गुफा, मिनि ग्रेट वाल, नेपालकै एक मात्र बाख्रा अनुसन्धान केन्द्रको फार्म र बौद्व गुम्बा छुटाउनै नहुने गन्तव्य हुन् ।

घलेगाउँ 

लमजुङको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ मा रहेको घलेगाउँमा मनमोहक हिमालको दृश्यावलोकनसँगै टिपिकल होमस्टे र रमणीय प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गाउँमा रमाउन सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मान्ने गरिन्छ । घलेगाउँबाट मौसम खुलेका बेला एका बिहानै माछापुच्छे«, अन्नपूर्ण, लम्जुङ, मनास्लु, हिमालचुली, बुद्ध हिमालसँगै बिहान सूर्य उदाउँदै गरेको सनराइज देख्न सकिन्छ । यसका साथै गुरुङ संस्कृति, सार्क भिलेज पर्यटन सङ्ग्र्रहालय, परम्परागत शैलीका घरहरू, भ्युटावर र भेडीगोठले समेत पर्यटकलाई आकर्षित गराउँछ । पदयात्रा पर्यटनमा समेत प्रचुर सम्भावना रहेको छ । घलेगाउँको नजिकै सोही गाउँपालिका अन्तर्गत वडा नं ४ मा भुजुङ गाउँ छ । ‘एक गाउँ एक गाविस’ ले चर्चित बनेको पर्यटकीय यस गाउँ देशमा सङ्घीयतापश्चात् भने ‘एक गाउँ एक वडा’ का नामले प्रसिद्ध छ ।

जोमसोम/मुक्तिनाथ 

मुस्ताङको जोमसोम र मुक्तिनाथ मन्दिर अत्यधिक पर्यटकको चाप हुने गन्तव्यमध्ये एक हो । मुस्ताङका लागि चैत, वैशाख र दसैँ तिहारको समयलाई उपयुक्त मानिन्छ । मुस्ताङ यात्रामा निस्कँदा तातोपानी, रूपसे झरना, चारैतिर सुन्दर सेता हिमालहरूको मनोरम दृश्यवलोकन, अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत पर्ने जिल्लामा प्राकृतिक सुन्दरता, पृथक् भूवनोट, हिमाली जीवन शैली, दामोदर कुण्ड, दुम्बा ताल, पूर्व मुस्ताङी राजदरबार, मार्फा, लेते, ठिनी, कागबेनीलगायतका थुप्रै पर्यटकीय स्थान पर्यटकका लागि विशेष छन् । मुक्तिनाथ मन्दिरमा रहेका १०८ धारामा नुहाएमा पाप पखालिने धार्मिक विश्वासका कारण भक्तजन तथा पर्यटकहरू मन्दिरको दर्शन र धारामा नुहाउनका लागि भिड लाग्ने गर्छ । जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । यस तीर्थस्थल शालिग्राम भगवान्को लागि प्रसिद्ध छ । अझ हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्रबिन्दु कागवेनीमा आफ्ना मृतक पितृप्रति पिण्ड दान तथा तर्पण दिनका लागि पनि उत्तिकै भिड लाग्ने  गर्छ । केही दिन घुमघामको समय थप्ने हो भने तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङसमेत पुग्न सकिन्छ । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण, वास्तविक हिमाली जीवन, पुरातात्त्विक हिमाली संरचना, चीनको तिब्बत झैँ लाग्ने भूबनोट र रमणीय दृश्यका लागि पर्यटकहरू लोमान्थाङ पुग्छन् ।