घोडेजात्रा पर्व, प्रविधि विकाससँगै महत्व घट्दै

काठमाडौँ । काठमाडौँ उपत्यकामा मनाइने घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व रहेको छ । औँसी तिथिमा मनाइने घोडेजात्राले तान्त्रिक मान्यतालाई आत्मसात् गरेको पाइन्छ ।

यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । यो दिन टुँडिखेलमा घोडा दगुराउने कामका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि गर्ने गरिन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठुलो चाड पनि हो ।

नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन् । काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा रहिआएको छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाइदिएर सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ ।

भोगमा छ्यापी, लसुन जस्ता तामसी भोजनको प्राचुर्य हुन्छ । घोडेजात्रापछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किंवदन्ती पनि आजसम्म त्यत्तिकै चरितार्थ रहेको पाइन्छ ।

संस्कृतिविद् गोविन्द टण्डनले टुँडिखेलमा घोडेजात्रा गरिनुको कारण त्यहाँ गुरु माता भन्ने राक्षसको बास भएको हुनाले त्यसको आत्मालाई उठ्न नदिन वर्षको एक पटक टुँडिखेलमा घोडा दौडाइदियो भने ठिक हुन्छ भन्ने आशयले यो चाड मनाउन थालिएको बताउनुभयो । टुँडिखेलमा घोडा चढेर सेनाले जुन आफ्नो सिप, कौशल देखाउनेसमेत गरेको छ । पहिले र अहिले घोडेजात्रा मनाउने चलनमा धेरै परिवर्तन आएको टण्डनले बताउनुभयो ।

उहाँले थप्नुभयो, “पहिला घोडेजात्रा मनाउन सीमित साधनको प्रयोग गरिन्थ्यो । सीमित साधन हुँदा घोडेजात्राको ठुलो महत्व हुन्थ्यो । मान्छेहरू घोडेजात्रा हेर्न परिवारसहित जाने र टुँडिखेलमा भिडभाड लाग्ने गथ्र्याे । टुँडिखेलको चारैतिरको बारमा मान्छेले खुट्टा टेक्ने ठाउँ पाउन गाह्रो हुन्थ्यो । अझ रुखको माथि चढेर पनि मान्छेहरू घोडेजात्रा हेर्न गर्थे ।”