छिमेकी राष्ट्रको चपेटामा नेपाल

नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्णसँगै विश्वकै राम्रो मुलुकमध्ये एक पनि हो । यहाँको प्राकृतिक सौन्दर्यतादेखि हावापानी सबै राम्रो र गुणस्तरीय छ । नेपाल जलस्रोतको दोस्रो धनी मुलुक पनि हो । यहाँ विश्वमै नपाइने जडीबुटीहरु पनि पाइन्छ । यति मात्र होइन यहाँ खेतीयोग्य जमिन पनि उत्तिकै छ ।

विभिन्न देशमा मरुभूमि छ । उत्पादन योग्य जमिन छैन । तर, हाम्रो देशमा खेतीयोग्य जमिन छ । त्यसमा खेतीपाती गरिएमा राम्रो उत्पादन हुनसक्छ । नेपालमा विश्वकै अग्लो हिमाल सगरमाथादेखि नदीनाला, विश्व सम्पदा सूचीमा परेका मठमन्दिरहरु पनि छन् । हाम्रो देश खाद्यान्नदेखि हरेक कुरामा आत्मनिर्भर बन्न सक्ने खालको मुलुक छ ।

विडम्बना, हामी अहिले कुनै पनि वस्तुमा आत्मनिर्भर छैनौं । हरेक वस्तु हामी विदेशबाट आयात गछौं । अझ भन्नुपर्दा त पानी समेत यहाँ विदेशबाट आयात गरिन्छ । अन्य मरुभुमि मुलुकहरु निकै विकसित भइसकेका छन् । नेपाल पनि प्राकृतिक स्रोतसाधनले भरिपूर्ण रहेकोले यहाँ ती मुलुकभन्दा छिटो र राम्रो विकास हुनुपर्ने थियो ।

यद्यपि, त्यस्तो छैन । यहाँ विकासको गति कछुवाको हिँडाईभन्दा पनि ढिलो छ । चार दशकअघिसम्म नेपालले विभिन्न देशहरुलाई खाद्यान्न अनुदानमा दिन्थ्यो । विश्वमा नेपालीहरुलाई बहादुर भनेर चिनिन्थ्यो । दशकअघि केही नभएका देशहरु आज विकसित छन् । ती देशमा जान हामी नेपालीहरु अहिले लाखौं खर्चिन्छौं ।

मरुभूमिजस्तो मुलुकलाई समेत त्यहाँका नेताहरुले विश्वकै उत्कृष्ट मुलुक बनाए । उनीहरुले अर्काका देशका जनतालाई भित्राएर आफ्नो देश विकास गरे । विडम्बना, हाम्रा देशका नेताहरुले विकासको कुरा नगरौं, आफ्नै जन्मभूमिको भूभाग समेत बचाउन सकेनन् । छिमेकी मुलुक चीन र भारतले नेपालको देश भूभाग कब्जा गरिसकेको छ ।

नेपाल चीन र भारतको बीचमा छ । त्यसमाथि चीन र भारत भौगोलिक रुपमै नेपालभन्दा कयौं गुण ठूलो छ । तर, ठुलो देश भएपनि उनीहरुले हाम्रो भूभागमाथि नजर लगाए । कब्जा गरे र अझै गर्न खोजिरहेका छन् । भारत र चीनले २०४६ सालअघि र पछि नै नेपालको धेरै भूभाग कब्जा गर्यो ।

हाम्रा देशका राजनीतिक दलका नेताहरुले पनि भारत र चीनसँग वार्ता गरेर आफ्नो देशको भूभाग फिर्ता ल्याउन सकेका छैनन् । नेता देश र जनताको लिडर हो । ऊ राष्ट्रको सुरक्षाकर्ता हो भने जनताको अभिभावक ।
कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । यद्यपि, उनी देश र जनताको लागि जोसँग पनि बोल्न सक्ने आँट भएको व्यक्ति भनेर जनताा नै बताउँछन् । त्यस्तै, मनमोहन अधिकारी पनि कसैसँग नडराउने व्यक्ति हुन् । गिरिजाप्रसाद कोइराला र सुशिला कोइराला पनि भारत र चीनको विरोधमा खुलेर विरोध गर्न सक्ने क्षमता भएका व्यक्ति हुन् ।

यी चार जना भारत र चीनका प्रधानमन्त्री वा राष्ट्रपतिसँग आफ्नो देश र जनताको लागि निर्धक्क भएर कुरा राख्न सक्ने व्यक्ति हुन् भनेर सर्वसाधारण भन्छन् । नेपालबाट जति पनि प्रधानमन्त्री भारत र चीन भ्रमणमा गए । उनीहरुले आफ्नो देशको कब्जा गरेको भूभाग फिर्ता ल्याउन केही प्रयास नै गरेनन् ।

तत्कालिन प्रधानमन्त्रीहरु झलनाथ खनाल, बाबुराम भट्टराई, माधव नेपाल, केपीशर्मा ओली, शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटकपटक भारत र चीन भ्रमणमा भइसकेका छन् । यीनीहरुको भ्रमणमा जनताले करोडौ कर खर्चिनुका सार्थ भारत र चीनका प्रधानमन्त्री, राष्ट्रपतिसँग फोटो खिचेर आउनुबाहेक केही उपलब्धि भएको छैन ।

सयौं वर्षअघि नेपालको जनसंख्या करोडको हाराहारीमा पनि थिएन । त्यतिबेला नेपालको भूभाग धेरै थियो, जनसंख्या थोरै थियो । अहिले मुुलकको जनसंख्या झण्डै तीन करोड पुगेको छ । तर, भूभाग भने घट्दै गएको छ । अर्कोतर्फ भूभाग अथवा जमिन नभएपछि उत्पादन के मा गर्ने ? अहिले देशमा खाने मुख प्रत्येक दिन बढ्दै गएको छ त उत्पादन हुने जमिन घट्दै ।

भारत र चीनले त नेपालको अधिकांश भूभाग कब्जा गर्यो नै तर सरकारले बाँकी भएको खेतीयोग्य जमिनमा समेत घर बनाउन दिएको छ । दलाली, भूमाफियाहरुले आनाको पाँच हजार नपर्ने खेतीयोग्य जमिन खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचिदिए । हाम्रो देशको खेतीयोग्य जमिन सबै घर र बाटो बनाउँदा मासिसकेको छ ।

अहिले नेपाल कुनै पनि वस्तुमा आत्मनिर्भर छैन । विदेशले खाद्यान्न निर्यातमा रोक लगाए हामी नेपाली जनता भोकभोकै मर्नुपर्ने स्थिति छ । यता, सर्वसाधारण जनताले पनि एउटै घरमा करोडदेखि अर्बसम्म लगानी गरेका छन् । एउटै सवारीसाधनमा लाखदेखि करोड लगानी गरिएको छ । सेयरमा पनि लाखौं सर्वसाधारणको खर्बौ लगानी छ ।

यहाँ नेता त मुर्ख भए नै तर जनतामा समेत के काम गर्न हुने र के गर्न नहुने चेतना भएन । अहिले शिक्षित व्यक्तिहरु नै घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा नराम्ररी डुबेका छन् । हामीले घर बनाउँदा, गाडी किन्दा भारत र चीनलाई फाइदा भएको छ । किनकि यहाँ नुनदेखि सुनसम्म भारत र चीनसँग आयात गरिन्छ ।

अहिले हाम्रो भान्सामा पाक्ने तरकारी पनि भारत र चीनबाटै आएको हो । यहाँका कृषकहरु पलायन हुँदै गएका छन् । गाउँमा खेतबारी बाँझो छ त सहरमा घरैघर । अनि नेपाली युवाहरु रोजगारीका लागि विदेशिरहेका छन् । जबकी भारतीयहरु भने यहाँ आएर विभिन्न व्यापारव्यवसाय गरी यहाँको पैसा आफ्नो देश लगिरहेका छन् ।

हाम्रा देशका राजनीतिक दलका नेतादेखि सरकारमा बस्नेहरुले पनि देश र जनताको लागि केही गर्न सकेनन् । उनीहरु भारत र चीनको गुलाम बनेका छन् । नेताहरु विदेशीको गुलाम बन्दा हामी जनता चाँहि ऋण लिएर भएपनि घरजग्गा, गाडी र सेयर किन्नतिर लाग्यौं । अनि आफ्ना छोराछोरीलाई लाखौं खर्चिएर पढाउने बहानामा अमेरिका, अस्ट्रेलियाजस्ता विकसित मुलुक पठायौं ।

सरकारी कर्मचारी र नेताहरुले नेपाल नै बेचेर विदेशीसँग २७ खर्ब ऋण लिइसके । अहिले हरेक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । तर, हामी अहिले पनि मेरो घर, मेरो गाडी, मेरो सेयर भन्छौं । भोलि विदेशीले देशै कब्जा गरेपछि कसरी त्यो घर, गाडी र सेयर आफ्नो हुन्छ ? जब देश नै आफ्नो रहँदैन, तब देशभित्र भएको वस्तु कसरी आफ्नो हुनसक्छ ?