जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप

विश्व बुबाआमा दिवसको अवसरमा हेटौँडामा ५४ जना जेष्ठ नागरिकलाई शनिबार निमोनियाविरुद्धको खोप लगाइएको छ। उक्त अवसरमा ८४ वर्षदेखि १०३ वर्षसम्मका २ सय ज्येष्ठ नागरिकहरूलाई थर्मस पनि वितरण गरिएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा निर्माण भएको जेष्ठ नागरिक सेवा केन्द्र शुभारम्भ गर्ने क्रममा जलेश्वर मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा निमोनियाविरुद्धको खोप लगाइएको हो।

हेटौँडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले पहिलो चरणमा सीमित बजेटका कारण ८४ जनालाई मात्रै खोप लगाइएको जानकारी दिँदै आगामी वर्षको बजेटमा वडाका बाँकी जेष्ठ नागरिकलाई खोप कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे।

महर्जनका अनुसार शनिबार आयोजित कार्यक्रमका अवसमा र वडामा रहेका जेष्ठ नागरिकहरूको सुगर, प्रेसर र अन्य स्वास्थ्यसँग सम्बन्धित निःशुल्क जाँचसमेत गरिएको छ।

सो अवसरमा बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको शुभारम्भ गरिन्। उनले सेवा केन्द्रले जेष्ठ नागरिकहरूका लागि आफ्ना दौँतरीहरूसँग भेटघाट गर्ने र सुखदुःख साटासाट गर्न सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिन्।