नेपाल डिस्टिलरिजलाई आईडब्लुएससी अवार्डमा तीन मेडल

काठमाडौं । द नेपाल डिस्टिलरिज प्रालिले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापीस्तर र परिचय कायम गर्दै तीन प्रतिष्ठित पदक(मेडल)हरू हासिल गरेको छ । ‘इन्टरनेशनल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’– आईडब्लुएससी) अवार्ड २०२४ मा कम्पनीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर(रजत) र दुई ब्रन्ज(कास्य) मेडल प्राप्त गरेको हो ।

‘आईडब्लुएससी’ अवार्ड, विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ ।

कम्पनीको सबैभन्दा पुरानो उत्पादन ‘खुकरी एक्सएक्सएक्स रम’ ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको छ । यस्तै, मौलिक नेपाली स्वादसहितको ‘खुकरी स्पाइस्ड रम’ लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ । साथै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ । ‘आईडब्लुएससी’को नौ–सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए ।