‘नेपाल र जर्मनी बीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास’

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच सोमबार बर्लिनस्थित राष्ट्रपति भावनमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा गएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा सोमबार द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । उनले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसीभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

‘दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लिन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौ,’ राष्ट्रपति पौडेललाई उदृत गर्दै पोखरेलले भने ।