मकवानपुरमा ३३० किलो गाँजासहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले ३३० किलो अवैध लागूऔषध गाँजासहित दुईवटा ट्रक र तीनजना मानिसलाई नियन्त्रणमा लिएको छ ।

बिहीवार राति सवा एक बजेको समयमा प्रहरीले भिमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिक भित्री सडक खण्डबाट १७५ किलो गाँजासहित बा३ख ४६१ नम्बरको मिनि ट्रक र ट्रकको चालकलाई नियन्त्रणमा लिएको हो ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार लागूऔषध गाँजा लुकाई छिपाई ल्याएको भन्ने बिशेष सुचनाको आधारमा ट्रकमा खानतलासी गर्दा ट्रकको पछाडी पट्टी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अबस्थामा गाँजा फेला परेको हो ।

ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुर्ण बहादुर रुम्बालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । यस्तै प्रहरीले बुधबार हेटौंडा १५ रातोमाटे चेक प्वाइन्ट स्थित पूर्वपश्चिम सडक खण्डबाट १५५ किलो अवैध लागूऔषध गाँजासहित डिब्बा ट्रक र दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले चितवनबाट पथलैयातर्फ जाँदै गरेको ना५ख १११८ नम्बरको डिब्बा ट्रक र ट्रक चालक चितवनको राप्ति नगरपालिका वडा नम्बर २ गड्यौलीका ३६ वर्षीय सुनिल मुक्तान र ट्रकमा सवार चितवनकै  राप्ति नगरपालिका वडा नम्बर १ लोथर बस्ने २० वर्षको अनिल भन्ने धन बहादुर स्याङतान लाई नियन्त्रणमा लिएको छ।

प्रहरीले उक्त डिब्बा ट्रकको माथी हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा रातो प्लाष्टिकमा बेरेर डोरीले बाधेको १६ पोकामा १५५ किलो लागूऔषध गाँजा फेला पारेको प्रवक्ता भण्डारीले जानकारी दिए । लागूऔषध गाँजासहित प्रहरी नियन्त्रणमा रहेको ट्रक र मानिसहरुमाथी थप अनुसन्धान भईरहेको उनले बताए ।