महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

चितवन  । नेपाल अधिराज्य भर ६ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्यजस्तै छ।

कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु ०.०१ प्रतिशत मात्रै छ। जुन रकमको हिसाबले रु. पाँच लाख १५ हजार मात्रै हो। प्रतिवेदनअनुसार उक्त आवमा रु. आठ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो।

प्रतिवेदनअनुसार ललितपुरको ०.४६ अर्थात् रु. चार करोड ५१ लाख, विराटनगरको १.०३ प्रतिशत अर्थात् रु. सात करोड ११ लाख ५३ हजार र काठमाडौंको १.११ प्रतिशत अर्थात् रु. २५ करोड ७० लाख ३४ हजार बेरुजु छ।

यस्तै, वीरगन्जको बेरुजु ७.१४ प्रतिशत अर्थात् रु. ५७ करोड ९४ लाख ८२ हजार र पोखरा महानगरको ७.९८ प्रतिशत अर्थात् रु. ७९ करोड २३ लाख ७५ हजार रहेको छ।

भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष ०७९/८० मा महानगरको बेरुजु विगतका वर्षको तुलनामा घटेको बताए। आव ०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु ०.०८ प्रतिशत र आव ०७७/७८ मा पेस्कीबाहेक बेरुजुमा ०.२५ प्रतिशत थियो।

असुुल गर्नुपर्ने बेरुजु पनि घट्ने क्रममा रहेको छ। महानगरपालिकाले बेरुजु नहुने गरी कार्यसम्पादनमा कडाइ गरेका कारण बेरुजु घटेको अर्यालले जानकारी दिए।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताइन्। उनले भनिन्, ‘ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेस्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्स्याेटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो।’

गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको प्रमुख दाहालले भनाइ छ। ‘हामी बेरुजुलाई शून्यमै झार्ने अभियानमा छौँ,’ उनले भनिन्। भरतपुर महानगरपालिकाले बेरुजु फर्स्याेटका लागि अभियान नै सञ्चालन गरिरहेको छ।

उपप्रमुख चित्रसेन अधिकारीले सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको जिकिर गरे। उनले भने, ‘छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको छ।’  खर्चमा गरिएको मितव्ययिता, नियम–कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको अधिकारीले बताए।