महिनामै बढ्यो सुनको मूल्य तोलामा सत्र हजार

काठमाडौँ । बजारमा डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । फागुनको पहिलो साता प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य चैत अन्तिम साता बढेर एक लाख ३४ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फागुन महिनामा उतारचढाव रहेको सुनको मूल्य चैत महिना सुरु भएदेखि निरन्तर बढ्दै गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा भएको मुद्रास्फीतिका कारणले सुनको मूल्य एक्कासि बढ्न गएको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा सुनको मूल्य घट्नुपर्ने भए पनि लगातार मूल्य बढ्दै गयो,” उहाँले भन्नुभयो, “विश्व बजारमा केन्द्रीय बैङ्कहरूले क्रयशक्ति बचाउन सुनको रिजर्भ बढाएका कारणले गर्दा पनि मूल्य बढ्न गएको देखिन्छ ।”

बैङ्कमा सुन थन्किएपछि बैङ्कले आफैँ पनि सुन आयात गरिरहेका छैनन् । लामो समय बैङ्कमा थुप्रिँदा बिमा, भाउ उतारचढावको जोखिम रहन्छ । बैङ्कमै सुन हुँदा होल्डिङ चार्ज बढ्दै जान्छ । बिमा पनि हुन्छ । मूल्य बढ्दा जोखिम पनि बैङ्कले नै बेहोर्नु पर्छ । त्यही भएर पनि बैङ्कले आयात बन्द गरेका हुन् ।

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपालमा पनि बढाइन्छ । मूल्य बढेकै कारण लगनको सिजनमा सुनको कारोबारमा प्रत्यक्ष असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले भनाइ छ  ।