राजनीतिक दलका झोलेका कारण स्वदेशी–विदेशीको जीऊधन जोखिममा !

भौगोलिक रुपमा सानो भएपनि नेपाल सुन्दर देश हो । नेपाल प्राकृतिक रुपमा धनी छ । यहाँको हावापानी उत्कृष्ट छ । अर्थात, सबैलाई सुहाउँदो । प्राकृतिक रुपमा धनी देश सांस्कृतिक, धार्मिक हिसाबले पनि निकै अगाडि छ । यहाँको सुन्दरता पाइला–पाइलामा देख्न सकिन्छ ।

मठमन्दिर, डाँडाकाडाले मान्छेलाई लोभ्याउँछ । यही हेर्न विभिन्न मुलुकबाट विदेशी पाहुना नेपाल आउँछन् । यता, विदेशी पाहुना जति बढी नेपालमा घुम्न आउँछन्, राज्यलाई त्यति नै फाइदा हुन्छ । राज्यलाई राजश्व आउँछ । यता, अन्तर्राष्ट्रिय स्तरमै नेपालको पहिचान बढ्छ । उनीहरु आफ्नो देश फर्किएर नेपालबारे कुरा गर्छन् ।

नेपालीहरु पाहुनालाई निकै सत्कार गर्छन् । त्यसैले त भनिन्छ ‘अतिथि देव भवः’ । विदेशी पनि हाम्रा लागि पाहुना नै हुन् । नेपाल घुम्न आएका विदेशीको जिम्मा सरकारले लिनुपर्छ । उनको जीऊधनको सुरक्षा सरकारले गर्नुपर्छ । केही कारण ऊ तलमाथि भयो भने सरकारले त्यसको जवाफ दिनुपर्छ ।

तर, पछिल्लो समय विदेशी कमाउने भाडो बनेका छन् । विदेशी नेपाल आएपछि होटल–रेष्टुरेण्टमा बस्छन् । नेपालीलाई एक हजारमा बेच्ने सामान होटल व्यवसायीहरुले पाँच हजार रुपैयाँ ठट्याउँछन् । विदेशी बस्ने रुम कस्तो छ ? खानेकुरा कस्तो छ ? गुणस्तरीय छ कि छैन् ?

होटल व्यवसायीले कति रुपैयाँ लिइरहेका छन् ? सरकार अनुगमन गर्दैन् । होटल व्यवसायीहरुको पहिलो शिकार नै विदेशी हुन् । विदेशी नेपाल झर्नेबित्तिकै ट्याक्सीको आवश्यकता पर्छ । विदेशीलाई लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरियो प्लेटको ट्याक्सी सञ्चालन गरिएको छ ।

तर, ट्याक्सीले चलाएको ठगीधन्दाबारे सरकार मौनझैं छ । विदेशी देख्नेबित्तिकै पाँच सयको बाटोमा पाँच हजार माग्ने त चालकहरुको प्रवृत्ति नै हो । होटल व्यवसायीहरुले ट्याक्सी चालकहरुलाई कमिशन दिएका छन् । गेष्ट ल्याएबापत कमिशन पाउँछन्, चाहे त्यो स्वदेशी होस् या विदेशी ।

पाहुना कति दिन होटलमा बस्छ, सोहीअनुरुप कमिशन दिइन्छ । त्यसैले ट्याक्सी चालकले पाहुनालाई ती होटलमा पुर्याइदिन्छन् । विदेशीले घुम्न रुचाउने पशुपतिनाथ मन्दिर, पाटन दरबार, भक्तपुर दरबार स्क्वायर, बौद्ध, स्वयम्भू, वसन्तपुर, दरबारमार्ग, ठमेललगायत हो । यी काठमाडौं उपत्यकाभित्रको प्रमुख घुमघाम स्थल छ ।

उपत्यका बाहिर त धेरै जिल्ला छन् । तर, जहाँ गएपनि विदेशीलाई धुरुक्कै रुवाइन्छ । विदेशी देख्नेबित्तिकै माग्नेहरु झुम्मिहाल्छन् । विदेशीहरुलाई नयाँ–नयाँ सामान खरिद गर्न मनलाग्छ । नेपालको कलाकृति त त्यहीमाथि पनि उत्कृष्ट छ । मन्दिर छेउछाउ विभिन्न सामान बेच्न राखिएको हुन्छ ।

विदेशीलाई स्वदेशीभन्दा त्यो सामान दोब्बर–तेब्बर मूल्य गरिन्छ । नेपाल आएपछि भ्रमण नगर्ने कुरै हुँदैन् । आरोहण गर्नुको विदेशीको चासो हो । उनीहरु विभिन्न हिमाल चढ्न रुचाउँछन् । ट्राभल्समार्फत हिमाल चढ्न जान्छन् । ट्राभल्सले पनि ठगीरहेको छ । मनलाग्दी पैसा लिइरहेका छन् ।

सरकारले पनि शुल्क तोकेको छैन् । हरेक क्षेत्रमा विदेशी ठगिरहेका छन् । त्यसैले तीन महिनाको भीसा लगाएर आएकाहरु महिना दिनमै फर्किन बाध्य हुन्छन् । नेपालबारे बुझौं भनेर आएका हुन्छन् तर नेपालीको व्यवहारले महिना दिनमै फर्किन्छन् । काठमाडौं उपत्यका अस्तव्यस्त छ ।

न व्यवस्थित फुटपाथ छ न सडक । ठमेल क्षेत्रमा सबैभन्दा धेरै विदेशी जान्छन् । तर, त्यहाँको सडक अस्तव्यस्त छ । काठमाडौं महानगरपालिकाले पछिल्लो समय वसन्तपुर एरियामा सवारी जान रोक लगाएको छ । यो निर्णय एकदमै सही छ । वसन्तपुर त नेपालको ऐतिहासिक चिनारी हो ।

त्यहाँ सवारी चल्न पहिल्यै रोक लगाउनुपर्थ्यो । तर, कुनै जनप्रतिनिधिले चासो देखाएका थिएनन् । वर्तमान मेयर बालेन साहले गरे । विडम्बना, त्यताको बासिन्दाले यो कुरा बुझ्दैनन् । नबुझिकन राजनीतिक पार्टीका झोलेहरुले भनेको भरमा सडकमा उत्रिन्छन् । महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ बढाउन खोजेको थियो ।

फुटपाथ बढाउनु त राम्रो कुरा हो । फुटपाथ नहुदाँ सडकबाट हिँड्नुपर्ने बाध्यता छ । जसले दुर्घटना निम्त्याइरहेको छ । दुर्भाग्यबस्, त्यहाँ पनि राजनीतिक पार्टीका झोलेहरु विरोधमा उत्रिए । महानगरले खनिसकेको सडक पार्टीकै आडमा पुर्न लगाए । फुटपाथ विस्तारको काम रोकियो ।

फुटपाथ नहुँदा स्वदेशीलाई त गाह्रो भएकै छ । झन् विदेशीहरुको हालत के होला ? ठूल्ठूला सडक, फुटपाथ र व्यवस्थित शहरमा बसेका उनीहरुले नेपालको बारेमा के सोच्लान् ? फुटपाथ त अनिवार्य भौतिक पूर्वाधार हो । सबैभन्दा धेरै भीडभाड हुने स्थलमा त फुटपाथ निर्माण गर्नुपर्छ ।

सडकहरु सफासुग्घर बनाउनुपर्छ । रुखविरुवा रोप्नुपर्छ । तारहरु व्यवस्थापन गर्नुपर्छ । तर, त्यहीका बासिन्दा विकास विरोधी छन् । विभिन्न जिल्लाबाट आएकाहरु वसन्तपुर घुम्न जान्छन् । खरिददारीका लागि न्यूरोड, असन, भोटाहिटी जान्छन् । तर, अब जानुहुँदैन् । विकास विरोधीहरु भएका ठाउँमा जाने नै होइन् ।

सर्वसाधारणको ज्यान जोखिममा राखेर व्यापार गर्ने अधिकार कसैलाई पनि छैन् । त्यहाँ घुम्न जाने क्रममा गाडीले ठक्कर दियो भने कसले जिम्मा लिन्छ ? न्यूरोडको बासिन्दाले लिन्छन् ? त्यहाँँ हिँड्दा पाकेटमारले पाकेट मायो, कसले भर्पाइ गर्छ ? न्यूरोडको व्यापारीले भर्पाइ गर्छन् ?

जिम्मेवारी केही नलिने अनि विकासको काममा अवरोध मात्र गर्ने ? नैतिकताले यस्तो गर्न दिन्छ ? यहाँको विशेषता यो हो है भनेर घुम्न आउनेलाई प्रभाव पार्ने हो । नाकि उनीहरुलाई तितो अनुभव गराउने । महानगरले आगामी आर्थिक वर्षदेखि न्यूरोडमा पनि सवारी साधन रोक्नेगरी नीति तथा कार्यक्रम ल्याएको छ ।

तर, त्यहाँका व्यापारी फेरि सडकमा उत्रिएका छन् । फुटपाथ पनि बनाउन नदिने, सवारी साधन आवागमनमा रोक लगाउनेभन्दा पनि विरोधमा उत्रिने । अनि गर्नेचाँहि के ? विकास पनि चाहिएको छ, काम पनि गर्न नदिने । यस्तो पाराले कतिञ्जेल चल्छ ? अब एउटै उपाय छ, न्यूरोड एरियामा कोही पनि नजानू भनेर महानगरले सार्वजनिक सूचना जारी गरिदिनुपर्यो ।

अनि मात्र विरोधमा उत्रिनेहरुले थाहा पाउँछन् । महानगरले सूचना जारी मात्र गरोस्, समग्र देशभरका जनताले मान्छन् । नत्र सरकारले सम्पदा वरपरको जग्गा अधिग्रहण गर्नुपर्यो । त्यहाँको जग्गा सरकारले सरकारी रेटमा किनिदिनुपर्यो । उनीहरु अन्त गएर बसून् । धेरै घमण्ड भयो ।

राज्यको ऐनकानुनलाई नै चुनौती दिन थाले । लाखौं जनताले दिनहुँ दुःख पाइरहेका छन्, उनीहरुलाई मतलब नै छैन् । सम्पदाहरुको सुरक्षाका लागि पुरातत्व विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ । तर, अनुगमन नै गर्दैन् । मन्दिरको जग्गा मिचेर मन्दिरभन्दा ठूलो घर बनाउने क्रम बढेको छ ।

जसका कारण मन्दिर मासिदै गएको छ । हरेक जिल्लामा जनप्रतिनिधि छन् । अन्य जिल्लाबासीले पनि विकास खोजिरहेका छन् । तर, पाएका छैनन् । न्यूरोडका बासिन्दालाई मात लाग्यो । उनीहरुलाई विकास चाहिएको रहेनछ भन्ने पुष्टि भयो । न्यूरोड क्षेत्र थप व्यवस्थित बनाउने हो भने घुम्न जानेको संख्या ह्वात्तै बढ्छ ।

घुम्न जाने कसैले पानी किन्ला, कसैले होटलमा छिरेर पानी खाइदिएला, कसैले लुगा किनिदिएला । व्यापार बढ्यो नि त । तर, न्यूरोडका बासिन्दाले त्यो कुरा बुझेनन् । २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले आफ्नो व्यक्तिगत स्वार्थ हेरे । बालेनले काम गरे भने भोलि एमाले सकिन्छ भन्ने उनलाई डर भयो ।

त्यसैले उनले त्यहाँका बासिन्दालाई उचाले । वसन्तपुर, न्यूरोड त्यहाँका बासिन्दाको मात्र होइन् । बाहिरी जिल्लाका मान्छे खरिददारीका लागि नजाने हो भने के को न्यूरोड ? त्यसैले धेरै घमण्ड नगरेकै बेस होला । राजनीतिक स्वार्थका लागि जनताको जीऊधन खतरामा पार्ने अधिकार न वडाध्यक्षसँग छ न न्यूरोडबासीसँग । व्यक्तिगत स्वार्थमा रमाएकाहरुको अगाडि महानगरका मेयर डगमगाउनुभएन् ।