रुपन्देहीका १६ पालिकाको बेरुजुमा पनि बुटवल अगाडि

रुपन्देहीका १६ स्थानीय तहमा पनि सबैभन्दा धेरै बेरुजु रकम बुटवलकै छ । प्रतिशतका हिसाबले रोहिणी गाउंपालिकाको सबैभन्दा बढी ५.०६ प्रतिशत र सिद्धार्थनगर नगरपालिकाको ४.४८ प्रतिशत बेरुजु देखिएपनि रकमका हिसाबले बुटवलको बेरुजु रकम जिल्लामै बढी हो ।

रुपन्देहीका १६ पालिकाको कूल बेरुजु रकम ८७ करोड, ७० लाख, ५१ हजार रुपैयाँमध्ये बुटवलको मात्रै १८ करोड एक लाख १६ हजार रुपैयाँ छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिकाको १.४१ प्रतिशत, देवदह नगरपालिकाको २.२०, लुम्बिनी सांस्कृतिक नगरपालिकाको ३.०७ र सैनामैना नगरपालिकाको १.५० प्रतिशत बेरुजु देखिएको छ ।

गाउँपालिकातर्फ ओमसतियाको १.८७ प्रतिशत, कन्चनको १.२२, कोटहीमाईको ३.४८, गैडहवाको २.४३, मर्चवारीको २.६७ , मायादेवीको २.६७, सम्मरीमाईको ४.०२, सियारीको १.७५ र शुद्धोधन गाउपालिकाको २.४५ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

बजेट योजना कार्यान्वयन, राजश्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखांकन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार व्यक्ति तथा संस्थाले जवाफदेहिता बोध नगर्ने र आर्थिक अनुशासनमा नरही लापरबाही तरिकाले बजेट खर्च तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने अर्थविद्हरूको भनाइ छ ।

बेरुजु देखिनु भ्रष्टाचार र अनियमितता नै नभएपनि बढी बेरुजु देखिनु सुशासनका दृष्टिले बिसंगति र बेथिति भएको उनीहरुको भनाइ छ ।

२०७९ को स्थानीय तह निर्वाचनबाट बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय प्रमुखमा तथा एमालेकी सावित्रादेवी अर्याल उपप्रमुखमा निर्वाचित भएका थिए ।

नगर कार्यपालिकामा नेपाली कांग्रेसकै बहुमत छ । यद्यपि, मिलाप नहुँदा प्रमुख प्रशासकीय अधिकृतहरु लामो अवधि टिक्न सकेका छैनन् । बहुमतको आडमा बजेट वितरण र खर्च गर्दा बेरुजु रकम धेरै भएको उपमहानगरकै कर्मचारीहरु बताउँछन् ।