लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा

काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबा र सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ ।

सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । सम्मेलनका लागि विभिन्न देशबाट लगानीकर्ता र विज्ञहरू काठमाडौं आइसकेका छन् । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन् ।

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ ।

सम्मेलनमा नेपाली ३ सय ८५ जना लगानीकर्ताहरू सहभागी हुनेछन् भने चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, यूएई का १३ र जर्मनीका १० जना लगानीकर्ताहरू सम्मेलनमा सहभागी हुनेछन् ।

त्यस्तै, कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा भाग लिँदैछन् । पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहनेछ ।

सम्मेलनमा लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिनेछन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ ।

सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुई वटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूसँग साक्षात्कार गर्ने कार्यक्रमसमेत राखिएको छ ।

वैशाख १६ र १७ गते काठमाडौंमा हुने तेस्रो सम्मेलनको तयारी सकिएको छ। सम्मेलनका लागि सरकारले १४८ परियोजनालाई प्राथमिकता दिँदैछ। सरकारको प्राथमिकतामा अधिकांश जलविद्युत आयोजना रहेको लगानी बोर्डका प्रवक्ता एवम्  सह-सचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो। सम्मेलन परिसरमा १४८ परियोजना सोकेस (प्रदर्शनी) मा राखिने उहाँको भनाइ छ।

जलविद्युतपछि पूर्वाधार अनतर्गत सडक, टनेल लगायतका आयोजना रहेका छन्। हस्पिटालिटी, केबलकार तथा पर्यटकीय पूर्वाधार समेटिएका छन्। कृषि मन्त्रालयले पठाएका कृषिजन्य पूर्वाधारलाई प्रथामिकता दिइएको छ। लगानी बोर्डका प्रवक्ता उपाध्यायका अनुसार सम्मेलनको प्राविधिक समितिले परियोजनाको अन्तिम सूची तयार गरेको छ।

लगानी सम्मेलनको विषयमा छलफलका लागि केही दिन अगाडि बसेको लगानी बोर्डको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर 

सम्भाव्यता तथा पूर्वसम्भाव्यता अध्ययन, वातावरणीय मूल्यांकन, लागत, डीपिआर भएको र नभएको गरेर आयोजनालाई आठ वर्गमा विभाजन गरिएको उपाध्यायाले बताउनुभयो।

लगानी बोर्डले केहीको आशयपत्र माग्नेछ भने केही सम्बन्धित मन्त्रालय वा विभागले आशयपत्र आह्वान गर्ने प्रवक्ता उपाध्यायले बताउनुभयो ।

पहिलो र दोस्रो गरी २० परियोजनालाई आशयपत्र आह्वान गर्न पाउने गरी प्रदर्शनमा राखिनेछ। यी आयोजनामा लगानी मात्र गरे हुने खालका हुनेछन्।

तेस्रो वर्गमा रहेका सात परियोजना मार्केटिङका  लागि राखिनेछ। यो सेसनमा लगानीकर्ताले नाफा लान पाउने रकमको मूल्यसहित विदेशी लगानीकर्तालाई बजारीकरण गरिने प्रवक्ता उपाध्यायले बताउनुभयो। चौथो वर्गका आयोजनाको अध्ययनका लागि जानकारी गराइने  उपाध्याको भनाइ छ।

पाँचौ वर्गमा १८ वटा परियोजनाका डेभलपर (विकासकर्ता) पहिचान भइसकेको उहाँले बताउनुभयो। यस्ता आयोजना निर्माणका लागि लगानीकर्तालाई सम्मेलनमा आह्वान गरिनेछ।

छैटौँ वर्गका १४ वटा परियोजना भने निजी लगानीका लागि राखिने छ। निजी लगानी आकर्षित गर्न सम्मेलनमै बोलपत्र आह्वान गरिनेछ। यी आयोजना अन्तर्राष्ट्रिय स्तरमै आह्वान गर्नुपर्ने भएका कारण सम्मेलनमै आह्वान गरिने उहाँले प्रष्ट पार्नुभयो।