ललितपुरको लालीगुराँ‍‍स सहकारीका सीईओ पक्राउ

काठमाडौं । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले सहकारीको बचतकर्ताको रकम हिनामिना गरि घरजग्गाको धन्दामा लगानी गरेका कारण अहिले सहकारी समेत टाट पल्टिएको हो । सहकारीको रकमबाट खरिद भएका विभिन्न सम्पत्ति समेत यतिबेला उनले सब्बुसिंह भण्डारी नामक एक महिलाको नाममा पास गरेर लुकाइरहेका छन् ।

पुल्चोकस्थित सहकारीको स्वामित्व रहेको जय लालीगुराँस ईन्भेष्टमेन्ट लेखिएको भवन पनि सुटुक्क सब्बु सिंहको नाममा पास गरिएको छ ।

  • विभागमै उजुरी परे कारबाही गर्छौं : टोलराज उपाध्याय

विभागका सुचना अधिकारी टोलराज उपाध्यायका अनुसार सहकारीलाई पटक पटक छलफल गराइएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र पीडित पक्षलाई बोलाएर छलफल भएको उनको भनाई छ । ‘विभागममा छलफल भएको हो । यदि सहमति अनुसार रकम फिर्ता नपाएको भए पीडित पक्षले थप निवेदन विभागलाई दिनु भयो भने हामीले कारबाहीका लागि सिआइबी लगायत निकायलाई पत्राचार गर्ने कुरा हुन्छ । हाम्रोमा निवेदन नआएसम्म पीडितले रकम फिर्ता पाए नपाएको थाहा हुने कुरा भएन,’ उनले भने,‘यदि सहमति अनुसार रकम नपाएको भए विभागमै उजुरी दिएपछि समस्याग्रस्त घोषणा गर्ने वा सिआइबीलाई कारबाहीका लागि पत्राचार गर्ने कुरा हुन्छ ।’

  • पीडित भन्छन्,‘थप उजुरी दिएका छौँ, तर विभागले कुनै कारबाही गरेन’

यता पीडित परिवारका आफन्त भने थप उजुरी दिँदा पनि विभागले कुनै कारबाही नगरेको बताउँछन् । ‘हामीले ९० दिन भित्र बचत रकम नपाएपछि थप उजुरी दिएका थियौँ । तर, विभागका अधिकारीले उजुरी संख्या नपुगेको भन्दै फिर्ता पठाएको छ,’ उनले भने,‘पीडित भनेको संख्यामा गणना हुने विषय हो र । कति जना पीडित खोज्न जाउँ ?’

Leave a Reply