वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी, अर्को घटनामा अमेरिका पठाउने भन्दै चार करोड ठगी

काठमाडौँ – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर रु १५ करोड ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउपर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुले तीन÷चार वर्षयता कम्तीमा पनि तीन सय जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, “उक्त ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन् ।”

पक्राउ परेकाहरुले तीन सय जनाभन्दा बढी मानिसबाट रु पाँच लाखदेखि रु १० लाखका दरले रु १५ करोडभन्दा बढी रकम ठगी गरेको पाइएको हो । उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आइडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै जागिरका लागि आउनेबाट रकम ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

अमेरिका पठाउने भन्दै चार करोड ठगी अभियोगमा पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई मंगबलार पक्राउ गरेको छ । पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ पुरानो सिनामङगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।

पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाई दिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । उक्त ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका निज नारायणकुमार खड्काको ज्योति विकास बैंकको खातामा चार करोड ३३ लाख ६८ हजार एक सय १२ दशमलव ५५ पैसा विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पु¥याइ अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएकोे छ । अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति रु १० लाखसम्म असुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई विशेष टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका–११ गड्डा चौकीबाट सोमबार पक्राउ गरी काठमाडौँ ल्याएको हो । ठगीमा पर्ने मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा रु ३८ लाख ३५ हजार र दुर्गाबहादुर वलीले विभिन्न मितिमा रु आठ लाख २० हजार रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । निजले अमेरिका पठाउने भन्दै हालसम्म करिब आठदेखि १० जना व्यक्तिबाट रकम लिएको र युरोप पठाए बापत प्रतिव्यक्ति रु आठदेखि दश लाखसम्म रकम लिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अभियुक्त नारायणकुमार खड्काको खातामा जम्मा भएको रकममध्ये रु चार करोड ३२ लाख २६ हजार एक सय एक दशमलव ७३ पैसा झिकी सकेको र हाल खातामा एक लाख ४२ हजार पाँच दशमलव ८२ पैसा मौज्दात रहेको प्रमुख भट्टराईले जानकारी दिए । पक्राउ परेका खड्कालाई विभिन्न कार्यालयबाट आठ वटा बैंकिङ कसुर र एउटा ठगी मुद्दा (जम्मा बिगो रु ७८ लाख ८८ हजार बिगो बराबर) चलेको देखिएको प्रहरीले जनाएको छ । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।