संसद बैठक अझै बसेन, नीति तथा कार्यक्रम पारित गर्ने तयारी, कांग्रेस भन्छ- सहमति नजुटे अवरोध

काठमाडौं । संघीय संसदको विहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन । सत्तारुढ दल र प्रतिपक्षी नेपाली कांग्रेसबीच कार्यसूचीमा कुरा नमिलरहेकै बेला प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा केही बेरमा बस्ने संसदको बैठकमा सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि आजै छलफल गर्ने र पारित गरिने कार्यसूचि रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नुहुने र त्यस विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने सचिवालयले जनाएकोछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारीको वचत अपचलन गरेको विषयमा संसदीय छानबिन समिति गठन नगरिँदासम्म संसद् चल्न नदिने अडान राख्दै आएकोछ । संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्ता र प्रतिपक्षबीच सहमति भए पनि प्रस्तावित समितिको क्षेत्राधिकारका विषयमा भने सहमति जुट्न सकेको छैन ।