समाज सेवा र धर्मको नाममा ठग्नेहरुको सम्पत्ति छानबिन गर्न ढिलो भएन र, सरकार ?

कलाकारलाई राष्ट्रको गहना भनिन्छ । कलाकार त्यो गहना हो, जसले समग्र राष्ट्रलाई विश्वसामु चिनाउन सक्छ । समाज परिवर्तनमा ठुलो भूमिका निर्वाह गर्न सक्छ । आम सर्वसाधारणमा जनचेतना फैलाउन सक्छ । त्यसैले, सरकारले पनि कलाकारलाई देशको गहनाको दर्जा दिएको छ ।तर, पछिल्लो समय हाम्रो देशमा कलाकारहरुले समाजमा सचेतना फैलाउनुको साटो विकृति, बेथिति निम्ताइरहेका छन् ।

कलाकारिताको नाममा हेर्न नसकिने व समाजले पचाउनै नसक्ने गतिविधि कलाकारहरुले गरिरहेको पाइन्छ । यसरी कलाकारहरु देश र जनताको लागि सचेतनाको माध्यम नभई उल्टै विकृति, विसंगतिको एउटा माध्यम बन्दै गएका छन् ।

आफ्नो चलचित्र, गीत, भिडियो चलाउनकै लागि उत्श्रृखंल गतिविधि गर्ने, छोटा कपडा लगाउने वा अश्लिल शब्दहरु बोल्ने प्रवृत्ति अहिले बढ्दै गएको छ । मुखमा जे आयो, त्यँही गीत गाउने अनि निर्मतालाई जे मन लाग्यो, त्यस्तै फिल्म बनाउने गरिएको छ । अर्कोतर्फ, राज्यको ऐन, कानून पनि नमान्ने अनि समाज र जनताको पनि ख्याल गर्दैनन्, कलाकार, निर्माता, निर्देशकहरु ।

राज्यले नदेखेको र जनताले भोगेको पीडा कलामार्फत बाहिर ल्याउनु नै कलाकारिता हो । तर, केही वर्षयता यस्तो छैन । अहिले भ्युजको लागि गीत, फिल्म बनाइन्छ । अनि जति भ्युज बढ्यो, त्यति नै छाडा गतिविधि उनीहरु गर्छन् । यता, जस्तो सुकै विज्ञापन पनि कलाकारहरु गर्छन् । पैसाको लागि ठग, चोर, दलाल संघसंस्थाको समेत विज्ञापन खेलिदिन्छन् ।

यसरी नै पछिल्ला वर्षमा कतिपय कलाकारमाथि यौन दुव्र्यवहारको आरोप लाग्यो त कतिपय बलात्कारको आरोपमा जेलैसमेत गए । ठगीलगायत विभिन्न आरोप लागेका कलाकारहरु पनि थुप्रै छन् अहिले । समाज सेवाको नाममा पनि धेरै कलाकारले ठगेका छन् । क्रिकेट रंगशला बनाउने भन्दै धुमुर्स–सुन्तली फाउण्डेसनले सर्वसाधारणबाट अर्बो रकम उठाएर भ्रष्टाचार गर्यो ।’

समाज सेवाकै नाममा अभिनेत्री स्वेता खड्काले माझी बस्ती नै जोखिममा पारिदिएकी छन् । यस्तै, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले पनि विपन्न, आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग गर्ने भन्दै देश–विदेशबाट पैसा उठाएका छन् । उनले केही रकम सहयोग गरेर सबै भ्रष्टाचार गरेको बताइन्छ । कँडेलले अहिलेसम्म कति पैसा उठाए ? र, कति सहयोग गरे ? भनेर कसैलाई थाहा छैन । त्यसैले, अब सरकारले उनको सम्पत्ति पनि छानबिन गर्नुपर्छ । अहिले यीनीहरुलाई पैसा सहयोग गर्ने व्यक्तिहरु अन्योलमा छन् ।

अधिंकाशले गरिब, विपन्नका लागि भनेर आफुले खाईनखाई, विदेशमा दुःख गरेर कमाएको, बालबच्चाको पेट भोको राखेर वा ज्येष्ठ नागरिक भत्ता समेत यीनीहरुलाई सहयोग गरे ।
तर, त्यो पैसा यीनीहरुले साँच्चिकै गरिब, दुःखीलाई सहयोग गरे कि भ्रष्टाचार गरे ? भनेर जान्न पाउने अधिकार त सहयोग गर्ने व्यक्तिहरुको पनि त हो नि । सरकारी कर्मचारीले एक हजार रुपैयाँ घुस खाएकोमा ऊमाथि भ्रष्टाचार मुद्दा लाग्छ । र, जेल जानुपर्छ । राजनीतिक दलका नेतामाथि पनि भ्रष्टाचारको आरोप लागेमा छानबिन हुन्छ ।

छानबिनका क्रममा उनीहरुले साँच्चिकै भ्रष्टाचार गरेको हो भने मुद्दा दायर गरिन्छ । यद्यपि, कलाकारमाथि त छानबिन नै गर्दैन, सरकार । समाज सेवा गर्ने भन्दै खर्बौ पैसा उठाएका छन्, कलाकारहरुले । तर, सरकार उनीहरुको सम्पत्ति छानबिन गर्दैन । यीनीहरुले गरिब जनता र देशको नाम बेचेर अँकुत सम्पत्ति जोडेका छन् । अर्कोतर्फ, यीनीहरुविरुद्ध बोल्न पनि कोही सक्दैन ।

धुर्मुस–सुन्तली, स्वेता खड्का र कृष्ण कँडेलको अर्बौको सम्पत्ति रहेको बताइन्छ । यद्यपि, यो सम्पत्ति यीनीहरुले आफन्त, साथीभाईको नाममा राखेको सुनिन्छ । अब अख्तियार र शुद्धिकरण विभागले यीनीहरुको सम्पत्ति खोज्ने कि नखोज्ने ? समाज सेवाको नाममा जनतासँग पैसा उठाएर भ्रष्टाचार गर्ने कलाकारहरुलाई राज्यले छोड्छ कि ती सर्वसाधारणलाई न्याय दिन्छ ? यो त भोलिका दिनमा थाहा होला ।

धुमुर्स–सुन्तली फउण्डेसन क्रिकेट रंगशला बनाउनबाट पन्छिसकेको छ । अहिले सरकार आफैं त्यो रंगशला बनाउन लागिरहेको छ । तर, र।ंगशला बनाउने नाममा धुर्मुस–सुन्तलीले सर्वसाधारणबाट उठाएको करोडौं रकम कहाँ गयो ? अब सरकारले यसबारे खोजतलास गर्नैपर्छ । कृष्ण कँडेलले गरिब र देशको नाममा बेचेर अर्बौ पैसा उठाएका छन् ।

तर, कति गरिब, विपन्नलाई उनले सहयोग गरे ? कतिलाई गरिबीबाट मुक्त गरे ? यसको विवरण उनी सार्वजनिक गर्न सक्छन् ? गरिबको अवस्था अहिले पनि उही छ । अस्पतालमा आज पनि बिरामीहरु उपचार खर्च तिर्न नसक्दा बन्धक बस्नुपरिरहेको छ । उपचार खर्च तिर्न नसक्दा अहिले पनि सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपरिरहेको छ । अनि कँडेलले देश–विदेशबाट उठाएको रकमले कति दुःखी, गरिबीको जीवन जोगाए ? उनले हालसम्म सहयोगका नाममा अर्बौभन्दा बढी रकम उठाइसकेका छन् । यति पैसाले त देश नै गरिबमुक्त हुन्छ ।

तर, किन अहिले पनि बाटोमा गरिब जनता देखिन्छन् । ससाना बालबालिकाहरु खान नपाएर मागिरहेको देखिन्छ । अस्पतालको बेडमा उपचार खर्च नहुँदा बिरामी र तिनका आफन्तहरु छटपटाइरहेको देखिन्छ । किन अहिले पनि उपचार खर्च तिर्न नसक्दा अस्पतालले शव नदिएपछि आफन्तहरु घरघरमा सहयोग माग्न आइरहेको भेटिन्छन् ?

यदि उनले साँच्चिकै खोजी खोजी गरिब, विपन्नलाई सहयोग गरेको भए किन आज पनि मुलुकमा गरिब जनता भेटिन्छन् ? उनले केहीलाई सहयोग गरेकोजस्तो देखाएर अर्बौ भ्रष्टाचार गरेका छन् । तर, यसबारे जनता र सरकार बेखबर छ । कँडेलले आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति जोडिसकेको बताइन्छ । यसरी समाज सेवाको नाममा सर्वसाधारणबाट पैसा उठाएर ठग्न पाइन्छ ?

अब सरकारले यीनीहरुको सम्पत्ति छानबिन गर्नैपर्छ । अब पनि यीनीहरुको सम्पत्ति छानबिन नगर्ने हो भने यीनीहरु यस्ता सयौं ठगको विकास हुनेछ । अनि मानिसहरु मेहेनत गरेरभन्दा पनि ठगेर नै कमाउँछन् । समाज सेवाको खोल ओढेर देश र जनतालाई भ्रममा पारी ठगी गर्नेहरुको अब पर्दाफास हुनैपर्छ ।

सर्वसाधारण कति सीधा हुन्छन् भन्ने एउटा उदाहरण नै पेश गर्दा पुग्छ । लिटिल बुद्धको नामले चर्चित धमगुरु रामबहादुर बम्जनमाथि जनताले आँखा चिम्लेर विश्वास गरे । पछि उनी विभिन्न काण्डमा मुछिए । उनीमाथि विभिन्न आरोप लाग्यो । केही महिनाअघि सीआईबीले बम्जनलाई पक्राउ गर्यो । त्यो पनि उनकै घरबाट ।

उनी पक्राउ परेपछि घरमा खोजतलास गरियो । सो क्रममा सीआईबीले झण्डै चार करोड रकम उनको घरबाट बरामद गर्यो । बम्जनको घर पनि आलिशान थियो । त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सिर्जनानगरमा माताको नाममा लुटतन्त्र मच्चिएको छ । माताको नाममा सीधासाधीलाई ठगिएको छ ।

माताको घर रोपनीमा बनिएको छ । घर पनि आलिशान वा दरबारजस्तै छ । यी माताको पनि सयौं ठाउँमा घरजग्गा रहेको र अंकुत सम्पत्ति रहेको बताइन्छ । यीनले पनि सबै सम्पत्ति अर्कोको नाममा राखेको बताइन्छ । तीन दशकअघि केही भएकी यी माता आज खर्बौको सम्पत्तिको मालिक बनेकी छन् । माताको नाममा जनता ठगेर खर्बौ कमाएको फेरि राज्यले देखेको छैन । यस्ता धर्मको नाममा सर्वसाधारण ठग्ने धेरै छन् । यी त प्रतिनिधि पात्र मात्रै हुन् ।

कुनै ठगहरु समाज सेवी बनेका छन् त कुनै गुरु र माता । यीनीहरुले जनतादेखि राज्य र सञ्चारकर्मीलाई समेत अध्याँरोमा राखेका छन् । देशमा संविधान छ, ऐन, कानून छ । तर, समाज सेवा वा धर्मको नाममा ठग्ने यस्ता ठगहरुमाथि न संविधान लागू भएको छ न त ऐन, कानून नै । सरकार यीनीहरुको अगाडि निरीह बनेको छ । अनि सोझासाझी जनता ठगिने क्रम जारी छ ।

देश विकास गर्ने काम सरकारको हो । सरकार नलागी न देश विकास हुन्छ न देशबाट गरिबी हट्छ । यो सरकारको दायित्व पनि हो । बिडम्वना, सरकारमा बसेका व्यक्तिहरुले यसमा चासो नदिँदा आज जनता ठगिएका छन् । सरकारले केही गरेन, हामी गछौं भनेर सीमित व्यक्ति तथा संघसंस्थाले सर्वसाधारण लुटिरहेका छन् ।

अर्कोतर्फ, मागेर पनि देश विकास हुन्छ ? देशबाट गरिबी हट्छ ? मागेर न देश विकास हुन्छ न देशबाट गरिबी नै हट्छ । त्यसैले, अब सर्वसाधारण पनि भ्रममा पर्नुहुन्न । यस्ता ठगहरुलाई केही पनि सहयोग गर्नुहुन्न । सरकारले पनि अब यीनीहरुको सम्पत्ति छानबिन गर्नैपर्छ । समाज सेवा र धर्मको नाममा ठग्ने व्यक्तिहरुलाई कानूनको दायरामा ल्याउनैपर्छ ।

सरकार पनि चलाखो हुनुपर्छ । कहाँ कसले कसरी ठगिरहेको छ ? भनेर सरकारले बुझनुपर्छ । सञ्चारकर्मीहरुले पनि यस्ता कुरा बाहिर ल्याउनुपर्छ । र, सर्वसाधारण पनि सचेत रहनुपर्छ । किनकि ठगहरु विभिन्न पोलेसी ल्याएर ठगिरहेका हुन्छन् ।