सहकारीको १६ करोड अपचलन गरेको आरोपमा संघीय सांसद गीता बस्नेतविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको १६ करोड ५८ लाख हिनामिना गरेको आरोपमा राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पेस गरेको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

प्रहरी अनुसन्धानमा बस्नेतले अपचलन गरेको रकममध्ये केही बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको देखिएको छ । आर्थिक अपचलनमा सहकारीका सचिव नगेन्द्र रिमाल पक्राउ परेसँगै बस्नेत फरार छिन् । रिमाल बस्नेतका ज्वाइँ हुन् ।

सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले गरेको छानबिनपछि पेस प्रतिवेदनका आधारमा प्रहरीले छिपछिपे सहकारीमाथि अनुसन्धान थालेको थियो ।

वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा भएको छानबिनको प्रतिवेदनमा पदाधिकारीले ‘एड्जस्टमेन्ट एकाउन्ट’ नामको काल्पनिक बचत खाता खोलेर रकम हिनामिना गरेको निष्कर्ष निकालेको थियो । पछि विभिन्न समयमा गरेर साढे तीन सयभन्दा बढी पीडितले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।