सात दिनदेखि बेपत्ता रुबीको शव फेला, श्रीमानले हत्या गरेको पुष्टि

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा एक महिलाको शव फेला परेको छ । महेन्द्रनगरबाट गत जेठ २६ गतेदेखि बेपत्ता भएकी महिलाको शव मिथिला नगरपालिकामा शनिवार राति सामुदायिक वनको खोल्सामा फेला परेको हो ।

शव फेला पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादव रहेको धनुषाका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए । गत जेठ २६ गतेदेखि बेपत्ता रहेकी रुबीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । उनको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको भन्दै राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको अवाले बताए ।