गोकर्णेश्वरमा ९२ वर्षीया वृद्धाद्वारा मतदान

विसं २०१५ को संसदीय निर्वाचनदेखि निरन्तर मतदान गर्दै आउनुभएकी ९२ वर्षीया इन्द्रकुमारी भण्डारीले आज पनि मतदान गर्नुभएको छ ।

भण्डारीले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका–१ को रामजानकी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मत खसाल्नुभएको हो । उहाँले २०३० सालसम्म बालुवा गाउँ पञ्चायतमा मतदान गर्नुभएको थियो ।

विसं २०३० देखि भने उहाँले तत्कालीन नयाँपाटी गाउँ पञ्चायत हालको गोकर्णेश्वर नगरपालिका–१ मा मतदान गर्न थाल्नुभएको हो ।

विगत ६५ वर्षदेखि नियमित मतदान गर्दै आउनुभएकी भण्डारी जनप्रतिनिधिका कामबाट भने धेरै सन्तुष्ट हुनुहुन्न । अब निर्वाचित हुने जनप्रतिनिधिले भने राम्रा काम गरे आफू खुसी हुने उहाँको भनाइ छ । “विकास निर्माणका काम राम्रा हुन्, भावी सन्ततिले सहजरूपमा जीवनयापन गर्ने वातावरण बनोस्, मेरो यही कामना छ”, भण्डारीले भन्नुभयो ।

%d