
अहिले बजारमा जताततै एउटै कुरा सुनिन्छ , सहकारीका बजार प्रतिनिधिहरु पैसा उठाउन आउनैबाट छोडे र भएको पनि लिएर भागे । ९३ लाख जनताको १५ खर्ब रुपैँया सहकारीले आज डुबाइदिएको छ । सहकारीमा जनताले राखेको पैसा सहकारीले फिर्ता नदिँदा सर्वसाधारणहरु आज मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् ।

सहकारीमा पैसा उठाउने बजार प्रतिनिधिहरु सहकारीले सर्वसाधारणको रकम फिर्ता नगरेपछि बचतकर्ताले कुट्छन् वा समातेर प्रहरीमा बुझ्राउँछन् भनेर लुकीलुकी हिडिरहेका छन् ।
हिजो सहकारीमा काम गर्ने बजार प्रतिनिधिहरुले आज जागिर पनि छोडिसके, कोठा पनि फेरिसके र मोबाइलको स्विच पनि बन्द गरिसके ।
सहकारीमा जागिर खाने कर्मचारी तथा बजार प्रतिनिधिहरु दुई वर्षअघिसम्म कोटपेन्ट, सर्ट , जुत्ता लगाएर चिलिक्ट भएर हिड्थे ।

कुनै मोटरसाइकल लिएर पैसा उठाउन हिड्थे त कुनै पैदल । साथै पैसा उठाउन पनि बोराझैँ झोला बोकेर हिड्थे । एउटै पसलले १० देखि १२ ओटा सहकारीमा पैसा राख्थ्यो र दिनहुँ १० ÷१२ जना बजार प्रतिनिधिहरु पैसा उठाउन आउन्थे ।
दिनमा एक जनाले एउटा सहकारीमा सय रुपैँयादेखि ५ हजारसम्म राख्थ्यो । यसरी एउटै बजार प्रतिनिधिले दुई वर्षअघिसम्म बजारबाट १ लाखदेखि ३ लाखसम्म उठाउँथे । एउटै सहकारीले ३० देखि ३५ जनासम्म बजार प्रतिनिधि पैसा उठाउन राख्थ्यो । बजारमा सहकारीका बजार प्रतिनिधिहरु पाइलैपिछे भेटिन्थे ।
उनीहरुले पनि कसैले नयाँ खाता खोल्नेबित्तिकै कमिशन पाउँथे वा मुद्दतीमा धेरै रकम राखेमा पनि कमिशन पाउँथे । तर अहिले बजारमा सहकारीका बजार प्रतिनिधिहरु त्यति देखिदैँनन् । अब पैसा उठाउन आएपनि सर्वसाधारणले पैसा राख्दैँनन् र राखेको पैसा पनि फिर्ता दिन नसकेपछि कुट्छन् भन्ने डरकै कारण उनीहरु बजारमा आउन छोडे ।
कति सहकारीमा काम गर्ने कर्मचारीहरु त बचतकर्ताले लखेट्छ भनेर एउटा जिल्लाबाट अर्को जिल्लामा बसाइँसरे । तर अब सहकारीमा पैसा राख्ने सर्वसाधारणहरु यिनीहरुलाई खोज्न कहाँ जाने । न उनीहरुको बसाँइ ठेगान नै थाहा छ न त फोन नम्बर नै ।
सर्वसाधारणहरुले पहिला सहकारीमा पैसा राख्दा ब्याज पाइन्छ र त्यो पैसा एकमुठ्ठ निकालेर कुनै क्षेत्रमा लगानी गरौँला भनेर राखे तर अहिले त्यो नै माया मार्नुपरिरहेको छ ।
हिजो सहकारीमा खाता खोलेर यिनीहरुले नै सर्वसाधारणलाई पैसा राख्न लगाए तर अहिले सहकारी डुबेपछि वा भागेपछि यिनीहरु ती बचतकर्तासँग सम्पर्कविहिन भए र भागे ।
यता सहकारीका अध्यक्ष र चेयरम्यानहरु त झनै जनताको पैसा लिएर भागिनै हाले । तर नभागेका सहकारीहरुमा पनि अहिले बचतकर्ताहरु पैसा लिन यत्तिकै आँउछन् तर फिर्ता गर्न पैसा छैन । कति सहकारीमा पैसा राख्ने बचतकर्ताहरुले पैसा नपाएपछि सहकारीकै अफिसमा भएको टेबुल , कुर्सी, कम्युटर आदि उठाउन थालिसके ।
त्यस्तै कतिले त अफिसमा आएर टेबुल, कुर्सी फुटाउने र कर्मचारीलाई गाली गर्ने समेत गर्छन् । यसरी सर्वसाधारणको पैसा सहकारीले फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु डरका कारण अफिस नै आउँदैनन् । यता कतिले त झन् सहकारीकै बोर्ड समेत निकालेर लुकाइसकेका छन् भने कतिले सहकारी भागेपछि अहिलेसम्म बोर्ड झुन्डाइरहेका छन् ।
सहकारीमा पैसा राख्नेहरु आफुले पैसा राखेको पासर्पोट लिएर सहकारी जान्छन् तर सहकारी नै नभेटेपछि घरतिर फर्किन्छन् । कति मानिसले त सहकारीको अफिस, अध्यक्ष , सञ्चालक नै नभेटि बजार प्रतिनिधिको विश्वासमा खाता खोलेर पैसा राखे तर अहिले पैसा निकाल्न खोजीखोजी त्यो सहकारीमा जाँदा त्यँहा भनिन्छ, त्यो कर्मचारीले हामी कहाँ जागिर छोडिसक्यो र पासर्पोटमा पैसा लेखेपनि यहाँ पैसा जम्मा गरिएको छैन ।
बजार प्रतिनिधिहरुले बजारबाट पैसा त उठाए पासर्पोटमा लेखे तर त्यो रकम अफिसमा नबुझाई घरतिर लगे भनेर भनिन्छ । यस्ता हजारौँ समस्या वा गुनासो लिएर सर्वसाधारणहरु दिनहुँ सहकारी सर्वसाधारणहरु हुन्छन् । अहिले सहकारीमा पैसा राख्नेहरुलाई न ब्याज नै छ न साँवा ।
उल्टै आफ्नो खातामा करोड छ भने महिनाको ५ हजार दिन्छु भन्छ । सहकारीमा पैसा राख्ने सर्वसाधारणको एउटै सहकारीमा लाखदेखि ३ करोडसम्म छ तर यो पैसा कहिले फिर्ता आउँछ । सहकारी कुन दिन र कति खेर भाग्छ भनेर त ठेगान छैन । सहकारी त कतिखेर भाग्नुपर्छ भनेर दिन र घण्टा कुरिरहेको छ ।
देशैभरि रहेका ३५ हजार २ सय ३९ ओटा सहकारीले करोडौँ जनतालाई यसरी ठग्दा र डुबाउँदा सरकार के हेरेर बसिरहेको छ । सहकारीको दर्ता खारेज गर्ने वा नयाँ दर्ता गराउने अधिकार अहिले सरकारले स्थानीय सरकारलाई दिएको छ । वडा, नगरपालिका÷गाउँपालिका, सहकारी विभाग तर न त त्यस्ता सहकारीको अनुगमन नै गर्छ न दर्ता नै खारेज गर्छ ।
हामीले केही दिन अघि भक्तपुर , ललितपुर र काठ्माडौँ महानगरपािलका तथा नगरपालिकामा गएर बुझेका थियौँ, त्यहाँ सहकारीले पैसा फिर्ता गरेन वा सहकारी भाग्यो भनेर दिनहुँ गुनासो लिएर आउनेको लर्कोहुन्छ । काठ्माडौँ महानगरपालिकाले त सहकारी संस्थामाथि अनुगमन गर्न एउटा कमिटि गठन गरेको बुझियो तर भक्तपुर र ललितपुर नगरपालिकाले त सहकारीलाई अनुगमन तथा कारबाही गर्न कुनै पहल गरेको छैन ।
केही दिनअघि मात्र सूर्यविनायक नगरपालिकामा सहकारीले डुबाइदियो भनेर १५ देखि २० जना पिडितहरु त्यँहाका मेयर बाँसुदेव थापालाई भेट्न आएका थिए तर भेट्न पाएनन् र उनीहरुको गुनासो कसैले सुनेन् । यसरी दिनहुँ कति मानिसहरु सहकारी कै गुनासोलिएर आउँछन् ।
काठ्माडौँका मेयर बालेन साहले सहकारीमाथि अनुगमन गर्न वा कारबाही गर्न एउटा कमिटि गठन गरेपनि भक्तपुर ललितपुर नगरपालिकाले कुनै कमिटि गठन गरेको छैन । जसले गर्दा यहाँका जनताहरु मारमा परेका छन् । उनीहरुलाई सहकारीले पैसा खाइदियो र सहकारी भाग्यो भन्नेबाहेक अरु केही विकल्प नै छैन ।
आफ्नो वडा, नगर वा गाउँभित्र कति सहकारीहरु रहेका छन् भनेर वडाध्यक्ष, अध्यक्ष र मेयरलाई नै थाहा छैन । पछिल्लो समय सहकारीहरुले घरैपिछे जनतालाई ठगेको छ । अहिले सबैभन्दा ठग, चोर काम गर्ने भनेकै सहकारी हो भनेर जनता बुझ्रछन् । केही वर्षअघिसम्म जनता ठग्ने वा डुबाउने भनेकै मिनपावर भनेर बुझिन्थ्यो तर अहिले त सहकारीलाई बुझिन्छ ।
कसैले केमा काम गछौँ भनेर सोधेमा , म सहकारीमा काम गर्छु भन्यो भने यो त ठग, चोर हो वा जनताको पैसा लिएर भाग्ने हो भनेर भन्छन् । सहकारी यति फट्याहा वा चोर रहेछ भनेर पछिल्लो समय पर्दाफास भइरहेको छ । सर्वसाधारणलाई कसरी सहकारीले ठग्छन् र लुट्छन् भनेर अहिले हरेक मानिसले थाहा पाइसकेका छन् ।
त्यसले गर्दा पनि सहकारीहरु नाङ्गिदैँ गए र यिनीहरु भाग्ने अवस्थामा पुगे । अहिले त बच्चादेखि बुढोसम्मले सहकारी चोर हो भनेर भन्छ । सहकारीका अध्यक्ष, सञ्चालक वा कर्मचारीहरु बाटोमा हिडिसकेका छन् भने सर्वसाधारणहरु दलाली आयो भनेर भन्छन् । यतिचाँडो सहकारी जनताबाट नङगिन्छ भनेर कसैले सोचेका थिएनन् ।
सहकारीको अफिसमा गएर बस्दा वा हेर्दा त्यँहा कुनै भोजमा खाना खान लाइनमा बसेझैँ जनता पैसा निकाल्न बसिरहेका हुन्छन् । कुनै काखमा बच्चा बोकेर सहकारीमा पैसा निकाल्न लाइनमा बसिरहेका हुन्छन् त कुनै लौरौँ टेकेर । आफुले राखेको पैसा सहकारीबाट आजै निकाल्न नपाए भोलि सहकारी भाग्छ भनेर सर्वसाधारणलाई चिन्ता छ ।
कति सहकारीका अध्यक्ष तथा सञ्चालकहरुले त आफ्नो र आफ्नो घरपरिवारको नाममा भएको चलअचल सम्पत्ति साथीभाइ वा आफन्तजनको नाममा पास गरिसकेका छन् । पहिलापहिला सहकारीको अध्यक्ष र सञ्चालक बन्न कत्रो पावर लगाउनुपथ्र्यो वा दौडधूप गर्नुपथ्र्यो तर अहिले त सहकारीको अध्यक्ष र सञ्चालक पदमा रहेकाहरु नै हामी यो ठाउँबाट राजीनामा दिन्छौँ भन्छन् ।
साथै यता सहकारीको सञ्चालक वा कार्यसमितिबाट मेरो नाम हटाइदिनुस् भन्दै सहकारी विभाग, कार्यालय र वडा,नगरमा जानेको संख्या तीव्र छ । बजारमा पछिल्लो समय सबै सहकारीहरु डुबिसकेको वा भाग्ने अवस्थामा पुगेको भनेर सर्वसाधारण बताउँछन् ।
सर्वसाधारणले सहकारीमा पैसा राख्न छोडेपछि सहकारीका कर्मचारीलाई तलब खुवाउन र घरभाडा तिर्न यिनीहरुसँग पैसा छैन । सहकारीका कति कर्मचारीहरु भन्छन्, ६ महिनादेखि तलब पाएको छैन त घरधनीहरु भन्छन्, एक वर्षदेखि भाडा पाएको छैन । कति सहकारीका कर्मचारीहरुले त भोलि सहकारी डुबेमा वा भागेमा हामी पनि जेल जानुपर्छ भनेर तलबबिनै जागिर छोडिरहेका छन् ।
सहकारीमा पैसा राख्ने सर्वसाधारण जनताहरु अहिले सहकारीबाट आफ्नो पैसा फिर्ता नपाएपछि कर्मचारीलाई कुट्ने र थुन्ने काम गरिरहेका छन् । अब झन् झन् देशमा जटिल अवस्था आउँदै छ । सहकारीका सञ्चालक , अध्यक्षहरु अब जुनसुकै बेला पनि नेपाल छोडेर भाग्न सक्छन् तर सरकारले अब यिनीहरुलाई भाग्न नदिन यिनीहरुको पासर्पोट बन्द गरिदिनुपर्छ ।
हिजो मिटरब्याजमा पैसा लगाएर दर मार्नेहरु अहिले लुकीलुकी हिडिरहेका छन् । बढी ब्याज खान वा नाफा खानका लागि यिनीहरुले हिजो घरजग्गा, गाडी र सेयरमा लगानी गरे तर अहिले यिनीहरुनै डुबे । तर अब बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य बढ्छ जस्तो देखिदैँन ।
अहिले बजारमा सुनिन्छ, दुईवर्ष अघि २० लाखमा किनेको गाडी १ लाखमा बिक्री हुदैँन र ४ हजार कित्तामा किनेको सेयर सय रुपैँयामा बिक्दैँन । सहकारीमा पैसा निकाल्न मानिसहरु चेक लिएर आउँछन् तर सहकारीका कर्मचारीहरु बत्ती छैन, नेट छैन वा हस्ताक्षर गर्ने मान्छे छैन भन्दै फकाईदिन्छन् ।
सहकारीमा पैसा राख्नेहरुको अहिले रुवाबाँसी चलिरहेको छ । यिनीहरुले न उपचार गर्न नै पाएका छन् न बालबच्चाको फिस नै तिर्न सकेका छन् । अझै कतिले त सहकारीमा पैसा राखे तर पैसा फिर्ता नपाउँदा बिहे नै गर्न पाएनन् । सहकारीमा राखेको रकम अब माया मार्नुपर्ने अवस्थामा पुगेको छ । एक छाक मिठो नखाई वा एक जोर लुगा नकिनी लोभले सहकारीमा पैसा राख्यो तर त्यँही पैसामा आज अरुले मोज गप्यो ।
अब सहकारीमा काम गर्ने कर्मचारीहरुलाई बचतकर्ताले बाटोमा भेटेमा जसले पनि समात्छ र पिट्छ । आफ्नो ज्यानको सुरक्षा र सर्वसाधारणको पैसा पचाउन उनीहर भागिभागि हिडिरहेका छन् । तर कतिन्जेल यिनीहरु लुक्लान् र भाग्लान् ।