हुन्डाई कोनाभन्दा पावरफुल इलेक्ट्रीक मोटरसाइकल, रेन्ज २९० किमि

काठमाडौं । इलेक्ट्रीक स्कुटरमा राम्रो प्रगति हासिल भएसँगै विश्वभरका दुई पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने स्थापित ब्राण्ड र स्टार्टअप कम्पनीहरु मोटरसाइकल उत्पादनमा जुटेका छन् ।

यही क्रममा फिनल्याण्डको स्टार्टअप कम्पनी भर्ज मोटरसाइकलले ल्याएको भर्ज टीएस निकै पावरफुल मोटर र ठूलो ब्याट्रीमा उपलब्ध गराएको छ ।

कम्पनीले पावरफुल मोटरसाइकलको डिलिभरी सुरु गरेको हो । भर्ज टीएस १००० सीसी क्षमताको नेकेड मोटरसाइकल सरह पावर फुल रहेको छ ।

नेपालमा विक्री वितरण हुँदै आएको हुन्डाई कोना इलेक्ट्रीकमा भन्दा यसमा बढी पावरको मोटर दिइएको छ । कोना १०० किलोवाट क्षमताको मोटर छ भने भर्ज टीएसमा १०२ किलोवाटको मोटर छ । त्यो भनेको १३८ बीएच पावर बराबर हो । यसको टर्क पनि ९९६.५ एनएम छ । जुन कोनाकोभन्दा तीन गुणा धेरै छ ।

कम्पनीले यसको उच्च गति क्षमता १८२ किलोमिटर प्रतिघन्टा रहने बताएको छ । यो मोटरसाइकलले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ३.५ सेकेन्ड मात्रै लगाउने छ ।

मोटरसाइकलको रेन्ज बढाउन कम्पनीले यसमा २०.२ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसले सहरी बाटोमा २९० र हाइवेमा १९४ किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

मोटरसाइकलको पुरा तौल २२५ किलोग्राम रहेको छ । यसमा रहेको ब्याट्रीलाई फास्ट चार्जरले ३५ मिनेटमा फुल चार्ज गर्न सक्नेछ ।

%d