
धनगढीका मदन भट्ट विगत दुई दशकदेखि बीमा अभिकर्ता पेशामा संलग्न छन् । नेपाल भारतको सिमाना समेत भएको उक्त क्षेत्रमा अभिकर्ताको रुपमा संलग्न हुन पाउँदा खुशी लाग्ने गरेको उनी सुनाउँछन् । उनले अभिकर्ता पेशा सुरु गर्दाको अवस्था र हालको अवस्थालाई हेर्दा धेरै कुराको फरक पाउने गरेको उनको अनुभव छ ।

मदनले सन २००१ देखि बीमा अभिकर्ता पेशा सुरु गरेका थिए । उनको घर छेउका छिमेकीको छोरा नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध थिए । उनै छिमेकीले मदनलाई पनि अभिकर्ता बन्न प्रेरित गरिरहन्थे । तर उनलाई भने खासै वास्ता लाग्दैन थियो ।
सो समय नेपालीहरु एलआइसी इन्डिया कम्पनी मार्फत बीमा गर्ने गर्थे । यसरी नेपालीले विदेशी कम्पनीमा बीमा गरेको देखेपछि उनमा अभिकर्ता बन्ने रहर जाग्यो । जसअनुरुप उनले सन २००१ मा एलआइसी नेपालबाट अभिकर्ताको कोड लिएर काम सुरु गर्न थाले ।
उनले भरखरै बीमा अभिकर्ताको रुपमा काम गर्दै गर्दा बीमा बारे सकारात्मक सोच राख्ने कमै व्यक्तिहरु थिए । बीमा अभिकर्ता भनेको कमिसनको लागि काम गर्ने र पैसा कमाउनका लागि मात्रै काम गर्ने भन्ने गरेको उनको भनाई छ ।

बीमा बारे सचेतना जगाउनका लागि उनी विभिन्न विद्यालयले आयोजना गर्ने कार्यक्रम, पिकनिक लगाएतमा सहभागी हुने गर्दथे । उनलाई अचम्म के लाग्थ्यो भने विद्यालयको प्रिन्सिपललाई समेत बीमा बारे कुनै जानकारी भएको पाइदैन थियो । यी कुराहरुले गर्दा पनि उनले अभिकर्ता पेशामा थप सशक्त भएर लाग्ने सोच बनाएका थिए ।