सेकेन्ड–ह्यान्डमा नयाँ मूल्यमा ल्यापटप बिक्री

काठमाडाैँ । विदेशमा धेरै पटक प्रयोग गरेर थन्काइएका वा थोत्रा ल्यापटप तथा डेस्कटप कम्प्युटर नेपाल भित्र्याएर यहाँको बजारमा नयाँकै मूल्यमा बिक्री गरिएको भेटिएको छ ।

बिग्रिएका वा प्रयोगपछि पुनः नवीकरण गरिएका रिफर्बिस्ड (उपकरण नवीकरण गरिएका) डिभाइसलाई प्रिमियमका रूपमा उच्च मूल्यमा बेच्ने गरिएको पाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको ल्यापटप तयार गर्न प्रयोग गरिने मुख्य पार्टपुर्जा, ल्यापटप तथा डेस्कटपसहित ५ सय ५० थानको प्राविधिक जाँचपछि यस्तो खुलासा भएको हो ।

नियन्त्रणमा लिइएका सबै ल्यापटपसहितका बेर बोल्ड्स जफत गर्ने अन्तिम तयारी गरिएको विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले जनाए ।
भन्सारले सनसाइन इलेक्ट्रोनिक र एसआरपीसी टेक्नोलोजी प्रालि, ललितपुर तथा कौशिका इन्टरनेसनल काठमाडौंले दुबईबाट आयात गरेका ल्यापटपको गुणस्तरमा शंका लागेपछि नियन्त्रणमा लिएर प्राविधिक छानबिन गरेको थियो ।

पाँच महिनाअघि नियन्त्रणमा लिइएको सामानको गुणस्तर जाँचका लागि समिति गठन गरिएको भन्सार प्रशासक पोखरेलले बताए । अनुसन्धानको निष्कर्षअनुसार अन्तर्राष्ट्रिय बजारमा नाम चलेको एसपी र डेल कम्पनीका पुराना ल्यापटपलाई नयाँ प्याकिङ र मूल्यमा आयात गरेर बिक्री गरिँदै आएको खुलेको छ ।

नेपाली बजारमा आई–३, आई–५, आई–७ मोडेलका एचपी र डेल ल्यापटप चल्तीमा छन् । यी ल्यापटप मोडलअनुसार ४० हजारदेखि तीन लाख रुपैयाँसम्म बजारमा बिक्री हुने गरेका छन् । विदेशबाट सेकेन्ड–ह्यान्डमा किनिएको ल्यापटपलाई नेपाली उपभोक्ताले भने नयाँकै मोल तिर्नु परिरहेको पाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागको समेत प्राविधिक जाँच पूरा भएपछि यी ल्यापटप पुराना भएको थप पुष्टि भएको हो ।
प्राविधिक रूपमा भएको जाँचपछि बजारमा यस्ता ल्यापटप किनेर उपभोक्ता ठगिँदै आएको प्रमाणित भएको भन्सारका अधिकारीहरूले जनाए । काठमाडौं नयाँ सडकका एक ल्यापटप विक्रेताका अनुसार नेपालका ग्राहकले सस्तो खोज्ने चलन भएकाले त्यस्ता सामान आयात हुने गरेको प्रस्ट्याए । ‘यस्ता सामान आयात भइरहेका छन् । यो रोकिँदैन । किनकि यसरी नै चल्दै आएको छ,’ ती विक्रेताले भने ।

बयानका क्रममा आयातकर्ताले नै नेपाली बजारमा धेरै ल्यापटप तथा डेस्कटप यसरी नै भित्रिने गरेको खुलासासमेत गरेको अनुसन्धानमा संलग्न भन्सार अधिकारी बताउँछन् ।

आयातकर्ताकै भनाइमा विदेशमा प्रयोगविहीन भएर फ्याँक्ने अवस्थाका ल्यापटपलाई पार्टपुर्जा हेरफेर, म्यानुफ्याक्चर र ग्यारेन्टी मिति परिवर्तन गरेर नयाँ प्याकेजिङसहित ब्रान्डेड मूल्यमा बिक्री गरिँदै आएको छ ।

रिफर्बिसिङ अन्य देशमा निकै प्रचलनमा रहे पनि त्यस्ता डिभाइसको मूल्य नयाँसरह लिनु गलत हो । भन्सार प्रशासक पोखरेलले सामानको कुल मूल्य भने मूल्यांकन भइरहेको बताए ।

अनुसन्धान अधिकारीहरूका अनुसार बजारमा रिफर्बिस्ड डेस्कटपभन्दा ल्यापटप धेरै संख्यामा बिक्री हुँदै आएको पुष्टि भएको छ । यस घटनापछि ल्यापटप र डेस्कटप पाँच महिनादेखि विमानस्थल भन्सारबाट आयात भएको छैन । त्यसैले पनि विगतमा सेकेन्ड ह्यान्ड ल्यापटप तथा डेस्कटप कम्प्युटर सहज रूपमा भित्रिएर उपभोक्ताको हातमा पर्ने गरेको अधिकारीहरूको अनुमान छ ।

अहिले बजारमा ल्यापटप अभाव नभएकाले त्यस्ता आयातकर्ताले कुनै न कुनै नाकाबाट आयात गरिरहेको हुन सक्ने भन्सार अधिकारीहरूको अनुमान छ । ‘बजारमा जति ल्यापटप छन्, सबै ब्रान्डेड होइनन्,’ ती व्यवसायीले भने, ‘अहिले पनि कुनै न कुनै नाकाबाट यस्ता ल्यापटप भित्रिरहेका छन् ।’

भन्सारले नियन्त्रणमा लिएको ल्यापटपको प्राविधिक जाँच गर्दा पाँच वर्षअघि नै ग्यारेन्टी म्याद सकिएको र एक पटक प्रयोग भएको प्रमाणित भएको छ ।

त्यस्ता ल्यापटपलाई नेपाली आयातकर्ताले आफ्नो कम्पनीमार्फत भन्सार नाकाहरूमा नयाँ मूल्य घोषणा गरेर बजारमा लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

भन्सारले पनि नयाँकै मूल्यअनुसार मूल्यांकन गरेर राजस्व तिराएपछि विदेशमा सस्तो मूल्यमा खरिद गरेका ‘सेकेन्ड–ह्यान्ड’ ल्यापटपले कानुनी रूपमा ब्रान्डेडको मान्यता पाउँदै आएको छ ।

भन्सारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको ल्यापटप र त्यसका पार्टपुर्जाका सम्बन्धमा वातावरण संरक्षण विभागलाई समेत जाँच गराएको छ । विभागले वातावरण संरक्षण ऐन, २०७६ अनुसार त्यस्ता ल्यापटप, डेस्कटप र त्यसमा प्रयोग हुने सामान जुन देशबाट आयात गरिएको हो, त्यतै फर्काउन सुझाव दिएको छ ।

नयाँ ल्यापटप हो कि होइन कसरी पहिचान गर्ने ?

ल्यापटप नयाँ वा रिफर्बिस्ड तथा पुरानो कस्तो हो भन्ने कुरा थाहा पाउने सबैभन्दा सजिलो उपाय भनेको  त्यसको कम्पनी वारेन्टी चेकजाँच गर्नु हो । सम्बन्धित ब्रान्डले त्यसका लागि आफ्नो वेबसाइटमै वारेन्टी अवधि थाहा पाउन सकिने सुविधा दिएका हुन्छन् ।

म्याद सकिएका इलेक्ट्रोनिक सामान आयात गर्न नपाइने र आयात गरे भन्सार बिन्दुबाट फिर्ता पठाउनुपर्ने प्रावधान ऐनमा छ । ‘हामी सकभर ती ल्यापटप र डेस्कटपको मूल्यमा २ सय प्रतिशत जरिवाना गराउने सोचमा छौं,’ पोखरेलले भने, ‘सबै तयारी भइसकेको छ ।’

१. ल्यापटपको प्रयोजन के हो ?

सबैभन्दा पहिले तपाईं ल्यापटप कुन प्रयोजनका लागि खरिद गर्दै हुनुहुन्छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । यदि तपाईं अफिसको काम वा बालबालिकाको पढाइका लागि खरिद गर्दै हुनुहुन्छ भने धेरै महंगो ल्यापटपको आवश्यकता पर्दैन ।

थोरै स्टोरेज भएको कम पावर भएको हार्डवेयरबाट समेत काम चल्छ । यद्यपि गेमिङ वा एडिटिङ लगायतको कुनै अन्य प्रोफेसनल प्रयोगका लागि लिनुपर्ने छ भने ल्यापटप थोरै महंगो पर्न जान्छ । जसमा र्‍याम र स्टोरेज धेरै भएको लिनुपर्ने हुन्छ ।

२. कति खर्च गर्ने ?

यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ३५ देखि ५० हजार रुपैयाँको रेञ्जमा राम्रै ल्यापटप पाउन सकिन्छ । तर सस्तोभन्दा दुई/चार हजार खर्च गरेर राम्रो ल्यापटप खरिद गर्ने कुरामा कञ्जस्याई भने सकेसम्म नगरेकै राम्रो ।

किनभने ल्यापटप जस्ता उपकरण सितिमिति छोटो अन्तरालमा खरिद नगरिने भएका कारण पछिल्लो प्रविधियुक्त ल्यापटप खरिद गर्नु नै बुद्धिमानी हुन्छ ।

३. प्रोसेसर र र्‍याम

नयाँ ल्यापटप खरिद गर्दाको समयमा कमसेकम आई फाइभ दशौं पुस्ताको प्रोसेसर वा त्यसभन्दा पनि लेटेस्ट प्रोसेसर होस् भन्नेमा ख्याल गर्नुहोस् । यदि र्‍यामको कुरा गर्नुहुन्छ भने आजकल कमसेकम चार जीबी र्‍याम त हुनैपर्छ ।

यसैगरी ल्यापटपमा २५० जीबी वा त्यसभन्दा माथिको स्टोरेज हुँदा राम्रो । ल्यापटपको स्पेसिफिकेसन जति राम्रो भयो ल्यापटपले गर्ने काम त्यति नै उत्तम हुन्छ भन्ने कुरा नबिर्सिनुहोस् ।

४. ल्यापटपको लुक्स

आजकल स्लिक ल्यापटप एकप्रकारको फेसन बनिसकेको छ । जसको साइज १४ इन्च हुन्छ । यद्यपि सानो आकारका ल्यापटप केही महंगो पर्ने गर्दछन् र १५.६ इन्चको ल्यापटप सस्तो हुने गर्दछ ।

यताउता लैजानका लागि भने ल्यापटप जति सानो भयो त्यति नै सहज हुन्छ । यसबाहेक ल्यापटप खरिद गर्दाको समयमा त्यसको तौलको समेत ख्याल गर्नुपर्ने हुन्छ । पछिल्लो समय आएका ल्यापटप हलुका हुन्छन् भने पुराना ल्यापटप केही गह्रौं हुने गर्दछन् ।

५. डिस्प्ले

सधैंजसो नन् रिफ्लेक्टिभ स्क्रिनयुक्त ल्यापटप खरिद गर्नुहोस् । त्यसमा कमसेकम ७२० पिक्सेल रेजोलुसन युक्त स्क्रिन होस् । ल्यापटपमा कति प्रकारका कनेक्टिभिटी पोर्ट उपलब्ध छन् भन्ने कुराको समेत ख्याल राख्नुहोस् ।

%d bloggers like this: