
निगरानी ब्युराे – युरोपे देश न्युजिल्याण्ड पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा घर भइ हाल काठमाण्डौंको कपनमा डेरा गरि बस्दै आएका ४६ वर्षीय विजय कुमार पूर्वी रहेका छन् ।

नक्कली भिषा र नक्कली टिकटमा न्युजिल्याण्ड पठाइ दिने गरि ओखलढुङ्गाका पाँच जना युवाहरुलाई हिजो बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगेका विजय कुमार पूर्वीले लान नसकेपछि पीडितहरुले निगरानी ब्युराेलाई गरेको गुनासोको आधारमा निगरानी टिमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रहरी सहायतामा खबर गरेका थिए ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रहरी सहायता र महानगरीय अपराध अनुसन्धान महाशाखाको सहयोगमा प्रहरीको टोलीले विमानस्थलबाट पक्राउ गरेको हो । उनले न्युजिल्याण्डमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग लाखौं रकम ठगी गरेका थिए ।
पीडितहरुका अनुसार उनले प्रतिव्यक्ति ८ लाख रुपैयाँ लिएर ४० लाख रुपैयाँ ठगी गरेको खुलेको छ । पीडितहरुसँग पैसा लिएपछि पूर्वी सम्पर्क बिहीन हुने गरेका थिए ।

उनी केहि वर्ष अगाडि पनि विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै लाखौं ठगी गरेर जनकपुरमा दुई वर्ष जेल सजाय भोगेर निस्किएको समेत खुलेको छ ।
उनी बिरुद्ध अहिले मानव बेचबिखन तथा रोजगारी ठगी सम्बन्धि कसुरमा अनुसन्धान हुने प्रहरीले बताएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि शुनिबार बबरमहल स्थित मानव बेचबिखन तथा अनुसन्धान व्युरोमा बुझाइएको छ ।