राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्‍यो : प्रवक्ता गिरी

काठमाडौं  । सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।

प्रतिनिधि सभाको १४ औँ बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताउनुभयो । उहाँले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन (आईपियु) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको जानकारी दिनुभयो ।

‘‘बैठक स्थगितभन्दा पनि यो बैठक बस्ने दिन र समय परिवर्तन भएको हो । आजका लागि निर्धारित भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गते दिनको १ बजे बस्नेगरी दिन र समय परिवर्तन भएको हो । सभामुखको निर्देशानुसार यस सम्बन्धी सूचना हामीले नियमानुसार टाँस गरिसकेको अवस्था छ ।,’’ प्रवक्ता गिरीले भन्नुभयो, ‘‘के कारणले भन्दाखेरी लगत्तै आउँदै गरेको फागुपूर्णिमा, नारी दिवस, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन साथसाथै सभामुखको छिट्टै हुने आईपियुको भिजिट लगायतका विभिन्न कारणहरूले पनि चैत्र ५ गते तोकिएको अवस्था हो । सभामुख आईपियुको सम्मेलनमा भाग लिनका लागि फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्नुहुन्छ ।’’

प्रवक्ता गिरीले लगत्तै फागुपूर्णिमा, नारी दिवस लगायतका दिनहरू परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गर्नुभयो ।

%d bloggers like this: