
निगरानी ब्युराे/जनकपुर । जातीय छुवाछुतको आरोप लागेपछि सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले माफी मागेका छन् ।

राष्ट्रिय दलित आयोगले कारबाही गर्न सरकारलाई निर्देशन र दलित संघ संस्थाहरुले कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएपछि अध्यक्ष यादव आज पत्रकार सम्मेलन गरी माफी मागेका हुन् ।
उनले गाउँपालिकाको लेटरप्याडमा माफी मागेको विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्ति भनेका छन्, ‘कुनै वर्ग, धर्म सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको भए म त्यसप्रति हृदयदेखि क्षमायाचना गर्दै आत्मआलोचना गर्न चाहन्छु ।’
अध्यक्ष यादवले आमाको १३ औं पुण्यतिथिको अवसरमा भोजको आयोजना गर्दा प्लेकार्ड नै झुण्ड्याएर जातीय अनुसार अलग अलग ठाउँमा बस्ने व्यवस्था मिलाइएको थियो । सो सम्बन्धी फोटोहरु सार्वजनिक भएपछि अध्यक्ष यादवको व्यापक आलोचना भएको छ ।

उक्त भोजमा पूर्व कानूनमन्त्री तथा एमालेका संघीय साँसद लीलानाथ श्रेष्ठ, प्रदेश मन्त्री र साँसदहरु तथा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक समेत सहभागी थिए । कानून बनाउने र कानूनको कार्यान्वयण गर्नेहरु नै जातीय छुवाछुतको भोज खाए, तर कोही केहि बोलेनन् ।
भोजको आयोजक गाउँपालिका अध्यक्ष यादवले घुमाउरो पारामा गल्ती स्वीकारेका छन् । मधेशमा विवाह तथा मृत्यू संस्कारमा ठूला भोज भतेर हुने गरेको र त्यसको व्यवस्थापन गर्दा व्यवस्थापकीय कामको सिलसिलामा अञ्जानबस त्यस्तो हुन गएको उनको भनाई छ ।