नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो संलग्नता छैन : रायमाझी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

अर्घाखाँचीको सन्धीखर्कमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै रायमाझीले भने, ‘फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन ।’ उनले आफू भुटानी शरणार्थीहरूको दिर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताउँदै कानुनलाई सहयोग गर्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

रायमाझी गत मंसिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि उपप्रधान तथा ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, स्थानीय विकासमन्त्री र शान्तिमन्त्री भएका थिए ।

रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका बाबु– छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका छन् । सोही घटनामा संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप पक्राउ परेकामाथि छ । भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै दुई जनाको उजुरी परिसरमा दर्ता भएको छ उजुरीका आधारमा हालसम्म ७ जना प्रक्राउ परेका छन् ।सोही घटनामा रायमाझीका सहयोगी सानु भण्डारी , कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल,सागर थुलुङ,टंक गुरुङ र सन्देश शर्मा पोख्रेल पक्राउ परिसकेका छन् । संगठीत अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।

%d bloggers like this: