नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई के अभियोग, के हुन्छ सजाय ?

काठमाडाैँ ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा हाइप्रोफाइल राजनीतिज्ञसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंँले दुई पूर्वमन्त्री, एक बहालवाला सचिवसहित ३० जनाविरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

करिब दुई दशकपछि हाइप्रोफाइल राजनीतिज्ञमाथि मुद्दा दायर भएको हो। चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जयप्रकाशप्रसाद गुप्तालगायतमाथि भ्रष्टाचार मुद्दा लागेपछि आपराधिक क्रियाकलापमा बाहेक अन्यमा राजनीतिज्ञले मुद्दा खेपेका थिएनन्। त्यसयता श्यामसुन्दर गुप्ता, सञ्जय साहलगायतमाथि भने आपराधिक मुद्दा लागेको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोग पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीमाथि लागेको छ। प्रतिवादी ३० जनालाई नै राज्यविरुद्धको अपराध कसुरमा पनि मुद्दा चलाइएको छ।

सरकारी वकिल कार्यालयले ३० प्रतिवादीमध्ये १४ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको हो। फरारलाई पव्रmाउ अनुमति पनि सोही मुद्दामै माग गरिएको छ। ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा संलग्न भएको आरोपमा सबै प्रतिवादीलाई चार प्रकृतिका कसुर आकर्षित गरिएको छ। मुलुकी फौजदारी संहिताको व्यवस्था अनुसार एकीकृत कसुरमा हुने सजाय दाबी पनि अभियोगपत्रमा गरिएको छ।

प्रहरीको करिब दुई महिनाको अनुसन्धानले प्रतिवादीहरूले आर्थिक लाभ लिने उद्देश्यले आपराधिक समूह निर्माण गरेको, नेपाली नागरिकलाई भुटानी शरणार्थी कायम गरेको, मुलुकको स्वाभिमान र राष्ट्रहितविपरीतको काम गरेको कसुर स्थापित भएको भन्दै मुद्दा दर्ता गरिएको हो। जसलाई सङ्गठित अपराधसँग पनि जोडिएको छ।

प्रहरीले केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टङ्ककुमार गुरुङ, डा इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाण, आङ्टावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई अभियोगपत्रको साथमै पेस गरेको छ। यस्तै लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाञी, नीरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनील बुढाथोकी र प्रतीक थापालाई फरार अभियुक्तका रूपमा मुद्दा चलाएको छ।

  • कसलाई के अभियोग

अभियोगपत्र अनुसार पूर्वमन्त्री खाणलाई चारवटै मुद्दा लगाइएको छ। खाणले ठगी, सरकारी कागजात किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराध गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ। यस्तै पूर्वसचिव पाण्डेमाथि पनि खाणसरह चारवटै मुद्दा दायर भएको छ।

पूर्वमन्त्री रायमाझीविरुद्ध पनि ठगी, सरकारी कागजात किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमै मुद्दा चलाइएको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार राईलाई पनि चारवटै कसुरमा मुद्दा दायर गरिएको छ। त्यस्तै दुलालका हकमा पनि चारै कसुर आकर्षित गरिएको छ।

सानु भण्डारी, आङ्टावा शेर्पा, सन्देश शर्मा, शमशेर मियाँ, टेकनाथ रिजाल, नरेन्द्र केसी, रामशरण केसीलाई पनि उल्लिखित चारवटै कसुरमा मुद्दा दायर गरिएको छ। फरार १४ जना अभियुक्तलाई पनि चारवटै कसुरमा मुद्दा दर्ता गरिएको छ।

अभियोगमा प्रतिवादीबाट २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपियाँ असुलउपर गरी जाहेरवालालाई भराउन माग गरिएको छ। कसुरदारबाट अपराध पीडित संरक्षण ऐन अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।

  • के हुन्छ सजाय ?

अभियोग दाबी अनुसार सबै प्रतिवादीलाई चार कसुर आकर्षित गरिएको छ। जस अनुसार अभियोग पुष्टि भएमा ठगीमा मुलुकी अपराध संहिताको दफा २४९ को खण्ड ३ (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिवाना हुने छ।

यस्तै लिखत किर्ते कसुरमा अपराध संहिताको दफा २७६ को उपदफा ३ (ग) अनुसार सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ। सबै प्रतिवादीको हकमा सोही अनुसार दाबी गरिएको छ।

राज्यविरुद्धको कसुरमा भने सार्वजनिक पद धारण गरेको व्यक्ति र अन्यका हकमा सजाय घटी तथा बढी हुने अवस्था छ। संहिताको दफा ५१ को उपदफा ४ (क) बमोजिम राष्ट्रहितविपरीत काम गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ। सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुने छ।

यस्तै प्रतिवादीलाई आपराधिक समूह स्थापना गरेको, आपराधिक समूहसँग मिलेर सङ्गठित अपराध गरेको अभियोगमा पनि सजाय दाबी लिइएको छ। उक्त कसुरमा सङ्गठित अपराध निवारण ऐनको दफा ९ अनुसार पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँ जरिवाना हुने छ। साथै अतिरिक्त थप ५० प्रतिशत सजाय पनि हुन सक्ने छ। सोही ऐन अनुसार गाडी, मोबाइल, आइप्याडलगायत जफतको माग पनि अभियोगपत्रमा लिइएको छ।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको हो । उक्त प्रतिवेदन गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो । कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए भने गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए । सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएकाे थियाे ।

उक्त प्रतिवेदन अझै सार्वजनिक छैन । तर, ठगी गर्ने गिरोहले त्यही प्रतिवेदन हात पारेर नेपालीलाई नक्कली शरणार्थी बनाएको प्रहरीको दाबी छ । कार्यदलले प्रतिवेदन गृहमन्त्रालय बुझाउँदा गृहसचिवमा प्रेम राई (हाल अख्तियार प्रमुख) थिए । राई २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवमा थिए । उनीपछिका गृहसचिव महेश्वर न्यौपाने २१ माघ २०७६ देखि २७ साउन २०७८ सम्म रहे । हाल उनले अवकाश पाइसकेका छन् ।

न्यौपानेपछि गृहसचिवमा टेकनारायण पाण्डे पुगे । उनी २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म बसेका थिए । पाण्डे हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् ।

यी तीन सचिव रहेकाे समयमा ठगी गिराेहले काम गरेकाे देखिएकाे छ । भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका सदस्यहरू धमाधम पक्राउ पर्न थालेपछि सो तथ्य फेला परेको हो । पूर्वगृहसचिव महेश्वर न्यौपाने आफ्नो कार्यकालमा शरणार्थीसम्बन्धी कुनै काम नभएको दाबी गर्छन् ।

१३ चैतमा पहिलोपटक तीन जनालाई पक्राउ गरेको प्रहरीले त्यसको तीन दिनपछि १६ चैतमा थप एक जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी–४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ र मोरङ पथरी–१० का सागर राई छन् ।

पक्राउ परेकामाथि प्रहरीले ठगी मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको छ । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार, हालसम्म उनीहरूले एक सय ४६ जना नेपालीलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर ठगी गरेको खुलेको छ ।

पक्राउ परेका दुलालसहितको समूहले करिब  पाँचसय नेपालीलाई भुटानी शरणार्थीको परिचय पत्र बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रहरीको दाबी छ । उनीहरूले करिब एक अर्व रुपैयाँभन्दा बढी रकम उठाएको आशंका प्रहरीको छ । यसरी गिरोह नै सक्रिय बनाउने मुख्य भूमिकामा मोरङ पथरीका केशवप्रसाद दुलाल देखिएका छन् । पीडितहरूबाट रकम असुली गर्ने काममा दाङका सन्देश पोखरेल शर्मा पनि संलग्न भएको खुलेको छ । हाल शर्मा फरार छन् ।

  • बयानमा असहयोग 

प्रहरीले पक्राउ गरेका चार जनामाथिको बयान तीव्र पारेको छ । उनीहरूले नेपालीलाई भुटानी शरणार्थीका नाममा ठगी गरेको स्वीकार गरे पनि गोप्य प्रतिवेदन कसरी प्राप्त गरे भन्ने उनीहरूले मुख खोलेका छैनन् ।

पक्राउ परेकामध्ये सानु भण्डारीले यसरी ठगी कार्यमा आफूहरू मात्रै संलग्न नरहेको दाबी गरेका छन् । उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘यो काम हामीले मात्रै गरेका होइनौँ । माथिल्ला तहका कर्मचारीसमेत छन् । हामी आवश्यक ठाउँमा पुगेपछि सबै कुरा भन्छौँ । केही प्रमाण हामीसँग छ ।’

भण्डारीले घटनाबारे आफूहरू पक्राउ गर्नुअघि नै सत्यतथ्य छानबिनका लागि माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको दाबी गरेका छन् । प्रहरीको दाबीअनुसार पनि गृह मन्त्रालयकै उपल्लो तहका कर्मचारीको संलग्नता विना उनीहरूले उक्त प्रतिवेदन प्राप्त गर्न कठिन हुने देखिन्छ ।

यस्तै वकिल कार्यालयले एकीकृत कसुरको सजायको पनि माग गरेको छ। एक व्यक्तिले एकभन्दा बढी कसुर गरेमा एकीकृत कसुरमा मुद्दा चलाउन पाउने अधिकार कानुनले दिएको छ। अपराध संहिताको दफा ४३ ले एकीकृत कसुरमा कसुरमध्येको सबैभन्दा बढी हुने सजाय र त्यसपछिको दोस्रो बढी सजाय हुने कसुरको आधा सजाय पनि थप गर्न सकिने व्यवस्था गरेको छ। सबै प्रतिवादीलाई उक्त सजायको माग अभियोगपत्रमा लिइएको छ।

यही अडियोका कारण आइतबारको संसद् बैठकमा दुवै नेतृको विषयले प्रवेश पाएको छ । राणाले बैठकमै यसको प्रतिकार गरेकी छन् । उनले भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने आफ्नो प्रश्न भएको बताएकी छन् । उनले एउटी नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ भन्दै जसले जति आलोचना गरे पनि आफूले केही नबिराएकाले नडराउने बताइन् ।

सांसद खाँडको सचिवालयले पनि सामाजिक सञ्जालमा आइरहेका अडियो झुटो भएको दाबी गरेको छ । पूर्वगृहमन्त्री खाँडले पनि यसअघि विज्ञप्ति जारी गरेर आफू यस घटनामा संलग्न नभएको बताएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रक्रियामा अहिलेसम्म २० वटा जाहेरी परेका छन्, जसमा एक सय बढी पीडित छन् । यो प्रकरणको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ । प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरेको छ, जसमध्ये बहालवाला सचिव टेकनारायण पाण्डे पनि छन् ।

कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलाललगायत सानु भट्टराई, टंककुमार गुरूङ, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझी, सन्देश शर्मा र सागर राई पनि पक्राउ परिसकेका छन् ।

पीडितहरूले सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले चैत १२ मा तीन जनालाई पक्राउ गरेको थियो । यो घटनाका गिरोहले प्रत्येक पीडितबाट ५ देखि ५० लाख रुपैयाँसम्म उठाएर करोडौं रकम असुल गरेको प्रहरीको दाबी छ ।

भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै गृह मन्त्रालयले २०७६ जेठमा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । त्यही प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको नाम उल्लेख गरी अनुसूचीसमेत थप गरिएको भनिएको छ । प्रतिवेदनमा ८ सय ७५ जनाको नाम समावेश गरिएको छ ।

  • संसद्मा के भयो ?

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्को बहस भएको छ । बैठकमा सत्तारुढसहित प्रमुख प्रतिपक्षी एमाले, नेमकिपा र स्वतन्त्र पार्टीका सांसदले नक्कली भुटानी शरणार्थीको नामबाट नेपालीलाई अमेरिका पठाउने प्रकरण उठाएका हुन् ।

  • दोषी पाइए राजनीति छोड्छुः खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आफू संलग्न भएको पुष्टि कसैले गरे राजनीतिक जीवनबाट बाहिर निस्कने बताए । “मेरो नाम र पूर्वप्रधानमन्त्रीको नाम राखेर समाचार आएका छन्, फलानाको पनि छानबिन हुनुपर्छ भनेर । यदि कहीँबाट पुष्टि भए वा म संलग्न छु भने सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु,” उनले संसद्मा भने ।

  • ओलीमाथि पनि छानबिन गरौं: चौधरी

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको हिसाबले केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताए । उनले तत्कालीन गृहसचिव र बहालवाला सचिवले समेत स्वीकार गरिसकेको भन्दै त्यतिबेला सरकारको नेतृत्व गरेका ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

  • थापाको संलग्नताः सुवाल

सांसद प्रेम सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको बताए । ८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन्? उनको प्रश्न थियो ।

  • भ्रष्टाचारको नमुनाः सिंह

सांसद अमरेशकुमार सिंहले २०६३ पछि सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल भएको बताए । कर्मचारी फसाउने अनि राजनीतिक नेतृत्व जोगिने गलत प्रवृत्ति अगाडि बढेको सिंहको भनाइ थियो । भुटानी शरणार्थीको नाममा नेपालीलाई भुटानी शरणार्थी बनाउने कागजातमा मुख्यसचिवको हस्ताक्षर भएको उनले दाबी गरे ।

  • सचिव थप सात दिन थुनामा

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई विदेश पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका आठै जनालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई प्रहरी हिरासतमा छन् ।

यी सबैजनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो । प्रहरीले यो प्रकरणमा एमाले सांसद रायमाझी लगायत केही व्यक्तिविरूद्ध पक्राउ अनुमति लिएको छ । तर, सबै फरार छन् ।

  • ओलीको आक्रोश

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीविरूद्ध अभियान चलाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् ।

आइतबार बसेको पार्टी संसदीय दलको बैठकमा उनले उक्त प्रकरणमा व्यक्ति दोषी हुन सक्ने तर पार्टीलाई नै मुछ्न खोजिएको बताएका हुन् । आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस विषयमा कुनै दबाब पनि नदिएको उनले स्पष्ट पारे । आफूसँगको भेटपछि प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा कसैको दबाबमा पर्दिनँ भनेकोमा उनले आश्चर्य व्यक्त गरे । अध्यक्ष ओलीले आफूलाई बोलाएर प्रधानमन्त्रीले अरू प्रसंगमा कुरा गरेको तर बैठक सकेर निस्किएपछि दबाबमा पर्दिनँ भन्दै ‘फुइँ’ लगाएको बताए ।

 

%d bloggers like this: