
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि जडान नगरेका एनटीसी, एनसेललगायत दूरसञ्चार सेवा प्रदायकको सेवा नै अवरुद्ध हुने गरी कारबाहीको चेतावनी दिएको छ । पौने ३ अर्ब रुपैयाँको लागतमा प्राधिकरणले सेवा प्रदायकहरुमाथि निगरानीका लागि ल्याएको टेरामक्स प्रविधि नेपाल टेलिकम र एनसेलले जडान गर्न चाहेका छैनन् । प्रविधि जडानका लागि अटेरी गरेको आरोपमा प्राधिकरणले नियामकको अधिकार प्रयोग गर्दै कारबाहीको चेतावनी दिएको हो ।

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिंग एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स प्रविधि जडानका लागि दूरसञ्चार कम्पनी नमानेपछि प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई गुहारेको छ । टेरामक्सले दूरसञ्चार सेवा दिने एनटीसी एनसेलजस्ता कम्पनीको कलको तथ्याङ्क संकलन गर्न, नेटवर्कमा हुने फर्जी कल हेर्न र भ्वाइस तथा डाटाको गुणस्तर जाँच गर्न सक्छ ।
प्राधिकरणले असार ७ गते प्रविधि जडान गर्न नगरे कारबाही गर्ने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको थियो । जवाफमा मन्त्रालयले टालटुले जवाफ दिएको आरोप प्राधिकरणको छ ।
सञ्चार मन्त्रालयका सचिव एनटीसीको सञ्चालक समितिको पदेन अध्यक्ष हुने प्रावधान छ । २०७४ भदौ पाँच गते सञ्चार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अन्तर्राष्ट्रिय कल मनिटरिंग र भिओआईपी नियन्त्रणका लागि टेरामक्स प्रविधि खरिद गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । तर अहिले प्रविधि जडानका लागि दबाब दिनुको सट्टा मन्त्रालयले फेरि प्राधिकरणलाई प्रष्ट पार्न भनेको छ ।

स्रोतका अनुसार एनसेललका उच्च पदस्थ अधिकारीसँगको भेटमा सञ्चार मन्त्रालयका अधिकारीले टेरामक्स प्रविधि जडानका लागि नहतारिन भनेका थिए । एनटीसीले ग्राहकको गोपनीयता र प्राविधिक जटिलताका कारण टेरामक्स जडान हुन नसकेको जनाएको छ ।
दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण र न्यूनीकरण गर्न तथा सेवा सेवा प्रदायकको सेवाको गुणस्तर जाँच गर्न टेरामक्स प्रविधि जडान गर्न लागेको प्राधिकरणको दाबी छ । टेरामक्स प्रणाली जडान गर्न एनटीसीलाई प्राधिकरणले २०८९ फागुन पाँच गते पत्राचार गरेको थियो । सरकारी स्वामित्वकै कम्पनीले प्रविधि जडान नगरेकाले एनसेललाई भने हाइसञ्चो भएको छ । एनटीसीले प्रविधि जडान गरेपछि मात्र एनसेललाई पनि नियमनको दायरामा ल्याउन सहज हुने प्राधिकरणको बुझाइ छ ।