सभामुखलाई प्रश्न- सदनको गतिरोध कहिले र कसरी हट्छ ?

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको भन्दै उनले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्लाई गति दिन उचित हुने बताए ।

प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री दाहाललाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसद्को गतिरोध हट्ने विश्वासमा आफू रहेको पनि बताए ।उनले सभामुखको भूमिका संसदमा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने स्थान संसद् बन्न नदिने बताए । उनले इस्यु उठिसकेपछि त्यसको समाधान गरेर नै संसद्का काम अघि बढाउन आफूले चाहेको र सोही अनुसार पहल गरिरहेको उल्लेख गरे ।

केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहालले लेखक किरण दीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरूसँग धाएका थिए भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै आएका छन् ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्नै नसक्ने बताउँदै संसद् अवरोध गर्दा संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध हुँदै आइरहेको छ ।

यता, सत्ता गठबन्धन भने प्रधानमन्त्रीको अभिव्यक्ति गलत नभएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेर बसेको छ भने प्रतिपक्ष दलहरू प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभएको भन्दै विरोध गरिरहेका छन् ।

%d