चट्याङले घाइते भएमा के गर्ने ?

काठमाडौं । वर्षा याम वा मनसुन भित्रिएको समयमा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु वा बादल एक आपसमा ठोक्किँदा चर्को आवाजसहित विद्युतीय लहर उत्पन्न भई आकाशमा बाटो बनाएर पृथ्वीसम्म पुग्छ, यसलाई नै चट्याङ भनिन्छ । यो एक प्राकृतिक प्रक्रिया हो तर यो अचानक हुने विद्युतीय विस्फोट हो । यसमा बादलबाट बादल र त्यसपछि पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । भाइबहिनीहरू,  यो एक प्राकृतिक खतरा हो, जसले जनधनको विनाश गर्ने गर्छ ।

वैज्ञानिकका अनुसार चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुनिँदैन तर अपवादका रूपमा ६० किलोमिटरसम्म चट्याङको आवाज सुनिएको रेकर्ड छ । एक पटक बिजुली चम्किँदा १२ करोड ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ भने ३० हजार डिग्री सेन्टिग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हुन्छ ।

त्यसो त चट्याङले सधैँ आवाज निकाल्छ भन्ने छैन, कहिलेकाहीँ आवाजविनाको चट्याङ पनि पर्ने गर्छ जसलाई ‘उष्ण बिजुली’ भन्ने गरिन्छ तर आवाज आउने होस् वा नआउने सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै खाले चट्याङ खतरनाक हुन्छन् । भाइबहिनीहरू, चट्याङ कहिले पर्छ भनेर पहिले नै भन्न सकिँदैन र अनुमान लगाउने प्रविधि अहिलेसम्म बनेको छैन । वैज्ञानिकका अनुसार यो वर्षा भएको ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ ।

चट्याङ कुनै पनि समयमा पर्न सक्छ, यो कुन समयमा पर्छ भन्न सकिँदैन । भाइबहिनीहरू, पृथ्वीमा बाह्रै महिना हरेक दिन हजारौँ चट्याङ परिरहेको हुन्छन् । मनसुनको समयअघि र पछि बादलको उचाइ धेरै हुने भएकाले अरू बेलाभन्दा धेरै चट्याङ पर्ने गर्छ । यस समयमा चट्याङ निकै खतरा हुन्छ । संसारको सबैभन्दा बढी चट्याङ पर्ने स्थानका रूपमा भेनेजुयलाको माराकाइबो ताल क्षेत्रलाई लिइन्छ । यहाँ प्रत्येक मिनेटमा करिब २८ पटक चट्याङ् पर्ने गर्छ ।

वैज्ञानिक कारण

भाइबहिनीहरू, चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । बादलका विपरीत दिशा एक आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । यसरी दुई बादल जुध्दा ठूलो आवाज निस्किन्छ । आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराव र घर्षणले एक किसिमको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु प्रोटन भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको न्युटल अणु प्राप्त गर्नका लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ ।

भाइबहिनीहरू, चट्याङ विशेष गरी खुला ठाउँमा पर्ने गर्छ । प्रायः सल्लो, साल, पैँयो, खडीक, टुनीजस्ता अग्ला ठूलो रुख छेउछाउ र अग्ला टावरहरूमा पर्ने गर्छ । रुखहरूका साथै अग्ला घरहरूमा न्युटलको सम्पर्कमा आएर आकाशीय प्रोटन अणुसँग सङ्घर्षणका कारण एक प्रकारको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यस कारण चट्याङ् पर्छ ।

बर्षातकाे समयमा चट्याङ परेको हामीले देखेकै छौँ । यो एक प्राकृतिक प्रक्रिया हो । मनसुन वा वर्षा मौसममा आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्टलाई चट्याङ भनिन्छ । गर्मी महिनामा जमिन तातो भएपछि तातो हावा आकाशमा जाने र बादलभित्र हावा तलमाथि हुँदै गर्दा उत्पन्न हुने घर्षणपछि करेन्टको उत्पति हुन्छ। वैज्ञानिक अध्ययनअनुसार एक पटक चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा त्योभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुन्छ ।

यति धेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भइ प्रवाहित हुने बेला यसको संसर्गमा आउने मानिस वा अरु कुनै प्राणीको ज्यान जाने गर्छ। पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने ६ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ ।

प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् ।

चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा चट्याङका कारण रु छ करोड आठ लाख ८५ हजार सात सय ६० बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा अनुमानित रु दुई करोड ७९ लाख ३४ हजार पाँच सय र सबैभन्दा कम कर्णाली प्रदेशमा रु २३ लाख ९२ हजार चार सय ३० को क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेशमा रु ९२ लाख ३८ हजार तीन सय ३०, बागमती प्रदेशमा रु ७९ लाख ८२ हजार, मधेस प्रदेशमा रु ५९ लाख ७९ हजार, गण्डकी प्रदेशममा रु ४९ लाख ३६ हजार पाँच सय र सुदूरपश्चिम प्रदेशमा रु २४ लाख ३३ हजार बराबरको आर्थिक क्षति पुगेको छ ।

चट्याङका कारण मुलुकभर कूल ५७ वटा भौतिक पूर्वाधार क्षति पुगेको छ । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ र सबैभन्दा कम गण्डकी प्रदेशमा ४ क्षति भएको छ । कोशी प्रदेशमा १४, कर्णाली प्रदेशमा सात, मधेस र बागमती प्रदेशमा छ/छ र सुदूरपश्चिम प्रदेशमा पाँच वटा पूर्वाधारमा क्षति पुगको छ ।

सो अवधिमा कूल तीन हजार एक सय ८७ वटा पशुचौपायाकोक्षति पुगेको छ । जसमध्ये कर्णाली प्रदेशमा एक हजार पाँच सय चार, मधेस प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा आठ सय ४७, कोशी प्रदेशमा दुई सय ८९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ७१ र बागमती प्रदेशमा ७२ वटा पशुचौपायामा क्षति भएको छ ।


  • कस्ता सावधानी अपनाउने ?

–खेतीपातीको चटारो पर्ने बेला चट्याङ पर्ने हुँदा खेतबारीमा काम गर्दा विशेष ध्यान दिनुपर्छ।

–रुखको फेदमा र छेउछाउमा आड लगाएर बस्नु हुँदैन।

–मेघ गर्जनसहित पानी पर्दा घरबाहिर निस्कन हुँदैन।

–पौडी पोखरी र आसपासमा जानु हुँदैन।

–रुखको फेद र आसपासमा बस्नु हुँदैन।

–छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन।

–बिजुलीबाट चल्ने उपकरण बन्द गर्नुपर्छ।

–घरबाहिर भए मोटरगाडीभित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ।

–कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउकोमाथि राखी निहुरिएर बस्नुपर्छ। तर भुइँमा लम्पसार पर्ने वा सुत्ने गर्नुहुँदैन।

–मेघ गर्जनसहित पानी परेको बेला जोखिम धेरै हुने भएकोले यस्तो बेला हिँडडुल गर्न हुँदैन।

  • चट्याङले घाइते भएमा के गर्ने ?

यदि चट्याङले कोही घाइते भए तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ। श्वासप्रश्वास वा धड्कन रोकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ।

चट्याङले पोलेको छ, नसाहरूमा क्षति पुगेको छ, हात टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै अस्पताल वा स्वास्थ्य चौकी पुर्याउनुपर्छ।

%d bloggers like this: