
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई कानून बनाउन मर्यादित र व्यवस्थित गर्ने गरी गृहकार्य थालेको बताएकी छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बजेटमा सांसदहरूले उठाएको सवालको जवाफ दिँदै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको जानकारी दिइन् । आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न योजना बनाइ काम गर्ने उनको भनाइ थियो । मन्त्री शर्माले विद्युतीय तथ्यांकहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने बताएकी छन् ।
साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि उनले बताइन् ।
सञ्चारमन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी गराइन् । गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको उनले बताइन् ।
