पूँजीपति खोजेर अर्बौ लगानी गर्ने बैंकहरूले गरिबलाई ऋण दिन मान्दैनन् : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

ठूला पूँजीपतिहरूलाई खोजेर अर्बौ लगानी गर्ने बैंकहरूले अझै पनि गरिबलाई भने ऋण दिन नमान्ने गरेको अध्यक्ष ओलीको भनाइ थियो । साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालनजस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको ओलीले बताएका छन् । ‘बैंकहरूले कि त अहिले जस्तै ठूलाठूला पूँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उसकहाँ बैंकको ऋण पुग्दै पुग्दैन,’ ओलीले भने, ‘जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ ।’

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रमा ओलीले गरिबलाई पनि बैंकहरूले कुनै व्यवसाय गर्नका लागि सिड मनीको रूपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ । ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नुपर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ,’ ओलीले भने, ‘तर, त्यहाँ मात्रै होइन । गरिबका, जहाँ सिड मनी छैन । जहाँ व्यवसाय सुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माइक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन ।’ ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए ।

%d bloggers like this: