
काठमाडाैँ । बझाङको मष्टा गाउँपालिकामा दुई बालिकामाथि सामुहिक बलात्कार भएको छ । मष्टा गाउँपालिकामा दुई बालिकालाई तीन जनाले बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

आरोपित तीनै जनाको उमेर नखुलेको र उनीहरू घटनास्थलबाटै फरार रहेको प्रहरीले जनाएको छ । पीडित १२ र १३ वर्षका बालिका अहिले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छन् । गत भदौ १४ गते साँझ ६ बजेतिर पसल हिँडेका बालिकालाई आरोपितले स्थानीय सरस्वती मावि हातामा बोलाएको र नजिकैको जंगलमा लगेर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङले भने आरोपितहरुको खोजी भइरहेको बताइरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेश चौधरीले भने, ‘स्वास्थ्य जाँच गर्दा बालिकामाथि करणी गरेको प्रमाणित भइसकेको छ । मुद्दा दर्ता गरेर अभियुक्तको खोजी भइरहेको छ ।’ उनले अभियुक्तहरूको उमेर प्रमाणित गर्नका लागि वडालाई पत्र लेखिएको र अदालतबाट पक्राउ पुर्जी लिएर खोजी कार्य भइरहेको बताए ।
