
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको स्वीकार गरेका छन् ।

‘हामीले नियमन गर्न सकेनौँ । हामीले व्यवस्थापन गर्न सकेनौँ । त्यो हाम्रो कमजोरी हो । आगामी दिनमा यस् कुराहरुलाई सुधार्ने हिसाबले अगाडि बढाउँला,’ मन्त्री रिजालले भने ।
आज (शुक्रबार) प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखापरेका समस्या समाधान गर्न नसकेको स्वीकार गरेका हुन् ।
समस्या उद्योगी, व्यवसायीको नभइ मन्त्रालय, सरकार र संसदभित्र रहेको मन्त्री रिजालको भनाइ छ । ‘समस्या हामीभित्र छ । उहाँहरू उद्योग सञ्चालन गर्नका लागि आउनु भयो । त्यसलाई नवीकरण हुन सकेन त्यो हामीले गर्न नसकेको हो ।

जति समस्या छ हामीभित्र छ । मन्त्रालयभित्र छ । नेपाल सरकारभित्र छ । संसदभित्र छ । हामी जिम्मेवार हौँ ।’ देशको समृद्धिका लागि हिमालको पानी र तराईको ढुंगा बेच्नु स्वभाविक भएको रिजालको दाबी छ । देशमा काम गर्नका लागि हरेक ठाउँबाट हस्तक्षेप हुने गरेको उनले गुनासो गरे ।
‘हामीले के बेच्ने ? हिमालको स्वच्छ पानी बेच्दा आमा बेचेको हुन्छ ? तराईबाट ढुंगा उठाइएन भने त्यो वेट लेभलभन्दा माथि आएर तराई मरुभूमि हुने अवस्थामा छ । त्यो ढुंगा बेच्दाखेरी हामीले आमा बेच्छ ?’ काम गर्न एनजीओले समस्या पैदा गर्ने गरेको उनको भनाइ छ । अदालतले पनि विभिन्न फैसला गर्ने गरेकाले काम गर्न अफ्ठ्यारो भएको उनले बताए । उनले अदालत क्रान्तिकारी भएको टिप्पणी गरे ।