चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं, १६ असोज । सरकारले चावपर्वको अवसर पारेर कुनै पनि वस्तु्को कृतिम अभाव सिर्जना गर्ने काम नगर्ने उद्योगी व्यवसायीलाई ध्यानाकार्षण गराएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले कुनै पनि खाद्य वा अखाद्य वस्तुमा कृतिम अभाव सिर्जना गरेमा कडा कारबाही गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले अस्वभविक मूल्यवृद्धि गरी वस्तु विक्री वितरण गर्ने, कृतिम अभाव सिर्जना गर्ने जस्ता काम नगर्न उद्योगी तथा व्यावसायीहरुलाई सचेत गराएको हो ।
मूल्यवृद्धि र कृतिम अभावका सन्दर्भमा कोही कसैसँग गुनासो भए हेलो सरकार, बाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिन सरकारले आग्रह गरेको छ ।

रकारले धार्मिक तथा साम्प्रदायिक द्वन्द्व फैलाउने किसिमका अभिव्यक्ति नदिन अपिल गरेको  छ ।

देशका विभिन्न स्थानमा धार्मिक सद्भाव भड्किने अवस्था सृजना भएपछि आज बसेको क्याविनेट बैठकले विशेष प्रस्ताव पारित गर्दै यस्तो अपील गरेको हो । क्याविनेट बैठकले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन पनि आग्रह गरेको छ ।

त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्तालाई  मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, स्वाधीनता, राष्ट्रिय हित र संघीय एकाइबीचको सुसम्बन्धमा प्रतिकूल असर पुग्नेगरी अभिव्यक्ति नदिन र त्यस्ता गतिविधि नगर्न पनि सरकारले सचेत गराएको छ ।

‘विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, वा राष्ट्रिय हित वा संघीय एकाइबीचको सुसम्बन्धमा प्रतिकुल असर हुनेगरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै धारमा घृणा,द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनु हुन एवं विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सरकार आग्रह गर्छ’, बैठकपछि सरकारका प्रवक्ता तथा सन्चारमन्त्री रेखा शर्माले भनिन् ।

आज नेपालगञ्जमा दुई धार्मिक समूहबीच विवाद चर्किएपछि स्थानीय प्रशासनले कर्फ्युं आदेश जारी गरेको छ । पछिल्लो समय समाजिक सञ्जालमा अभिव्यक्त विचारलाई लिएर सुनसरी, महोत्तरीलगायतका जिल्लामा पनि धार्मिक विवाद हुँदा देशभर धार्मिक तथा साम्प्रदायिक सम्बन्धमा खलल पुग्ने खतरा बढेको छ ।

%d