
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालतले लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापनका विषयमा फैसला गर्दै मेयर यादवलाई कसुरदार ठहर गरेको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश गरेको हो। विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार यादव दोषी ठहर भए पनि यस मुद्दाका अन्य २० जना प्रतिवादीले भने सफाइ पाएका छन्।
विजयपुरलाई ६० र गुजरा नगरपालिकालाई ४० प्रतिशत दिने निर्णय भएको थियो। तर, विजयपुरले ठेक्का रद्द गरेको थियो। आर्थिक वर्ष ०७५-७६ मा मेयर यादवले ठेक्का रद्द गरेका थिए। सो निर्णयले सरकारलाई घाटा भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उक्त उजुरीउपर अनुसन्धान गरी गत वर्ष मुद्दा चलाइएको थियो।
अख्तियारले १२ असार ०७९ मा मेयर यादवसहित तत्कालीन उपप्रमुख कान्ति देवी, वडा नं. १, २, ३, ५, ६, ८, ९, १०, ११ का वडाध्यक्ष, केही पूर्ववडाध्यक्षलगायतलाई प्रतिवादी बनाएको थियो। उक्त मुद्दामा तत्कालीन नगर कार्यपालिका सदस्यहरूका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र रञ्जना साहसमेत गरी २१ जनालाई मुद्दा चलाइएको थियो। जसमा एक जनाउपर मात्र भ्रष्टाचार ठहर भएको हो।

लालबकैयाको ठेक्का प्रचलित ऐन, कानुन तथा नियमविपरीत रद्द भएको ठहर अख्तियारको थियो। ठेक्का रद्द गर्दा विजयपुर र गुजरा दुवैलाई घाटा भएकाले प्रतिवादीहरूबाट असुलउपर गरी क्रमशः ६० र ४० प्रतिशत रकम भराउन अभियोगपत्रमा माग गरिएको थियो।