
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘ब्याक सर्पोट’मा आफ्नो गतिविधि सञ्चालन गर्दै आएका ठानिएका दुर्गा प्रसाईँको आह्वानमा मंसिर ७ गते काठमाडौँको माइतीघर केन्द्रित वृहत् प्रदर्शनको तयारी भइरहेको छ । सोही मिति र एकै स्थानमा एमाले निकट युवा संघले समेत प्रदर्शन गर्ने भएपछि त्यस दिनको परिस्थिति कस्तो बन्ला भन्नेबारेमा जनस्तरमा चासो र बेचैनी बढेको छ ।

एमालेका नेता महेश बस्नेतले यसअघि नै कार्यकर्तालाई प्रदर्शनबारे कडा निर्देशन दिइसकेका छन् भने उनको दुर्गा प्रसाईँसँग कुटतापूर्ण सम्बन्ध रहेको छ । यस्तो पृष्ठभूमिमा युवा संघ र दुर्गा प्रसाईँका निकटस्थहरु आमनेसामने हुँदा उत्पन्न हुनसक्ने असहज अवस्थालाई लिएर आम सर्वसाधारणमा बेचैनीको अवस्था सिर्जना भएको हो ।
महँगी नियन्त्रण र सामाजिक अराजकता जस्ता जनताका सामान्य अपेक्षा राज्यले सम्बोधन गर्न नसक्दा त्यसैको कमजोरीमा फाइदा उठाउन व्यवस्था विरोधी र अराजकतावादीहरुले खेल्न सुरु गरेको टिप्पणी हुन थालेको छ ।
जसले समाजलाई थप अराजकतातर्फ धकेल्ने चिन्ता बढिरहेकै बेला प्रदर्शन हुन लागेको हो । अर्थपूर्ण र संवेदनशीलताका साथ यसकारण पनि हेरिएको छ कि प्रसाईंका गतिविधिविरुद्ध यसअघि नै नेकपा एमालेको युवासंघ प्रतिकारमै उत्रिसकेको छ । राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका बस्नेतले मंसिर ७ मा बृहत कार्यक्रम राखिएको बताए । जसले झडपको स्थिति निम्तन सक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

उनले लघुवित्त, सहकारी र बैंक पीडितहरुका नाममा प्रसाईंले गतिविधि गर्न खोजेको भन्दै यस्ता अराजक र अपराधीहरुले त्यस्ता मुद्दा उठाउने नभइ राजनीतिक दलहरुले उठाउने भएकाले आफूहरुले कार्यक्रम राखेको बताए । ‘किनभने यी मुद्दा सम्बोधन गर्न क्याबिनेटले निर्णय गर्नुपर्ला र कानुन बनाउनुपर्छ । यो समग्र काम राजनीतिक दलहरुले गर्ने हो । त्यसकारण युवासंघले सबै विषयको नेतृत्व गर्नेगरी मंसिर ७ गते काठमाडौँमा विशाल कार्यक्रम गर्दैछ,’ बस्नेतको भनाइ छ ।
उक्त कार्यक्रममा सबै किसिमका मानिस सहभागी हुने भन्दै जनताका मुद्दामा काम गरेर देखाउने बस्नेतको दाबी छ । उनले मंसिर ७ मा २० हजार कार्यकर्ता सडकमा उतार्ने पनि बताए । उक्त कार्यक्रमबारे यसअघि नै आफू निकटका कार्यकर्तालाई निर्देशन दिएको एक भिडियो सामग्री सामाजिक सञ्जालमा राख्दै बस्नेतले मंसिर ७ को कार्यक्रम सहज र शान्तिपूर्ण ढङ्गले हुने भन्दै कुनै अराजकतावादी आएमा ‘अचार’ हुने चेतावनी दिएका छन् ।
विशेष तयारीको निर्देशन दिँदै बस्नेतले भनेका छन्, ‘लडाकु युवा पहिलो लाइनमा बस्ने, आम सर्वसाधारण बिचमा राख्ने र त्यहाँ कुनै पनि किसिमको प्रतिरोध भयो भने सशक्त ढंगले प्रतिरोध गर्ने ।’ त्यस क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य नेता कार्यकर्तामाथि अनावश्यक लाञ्छना लगाउने र दुःख दिने कसैले गरे भने अरिङ्गालको गोला जसरी प्रस्तुत हुन पनि बस्नेतको निर्देशन छ ।
उनले जे जे गर्न सकिन्छ गर्नुपर्ने भन्दै हारेर र गर्न नसकेको कुरै नगर्न भनेका छन् । ‘जनताको पक्षमा, सामाजिक सद्भावको पक्षमा, राष्ट्रियताको पक्षमा उभिने तर सरकार र सरकारको आडमा कराउने अराजकतावादीहरु सबैलाई प्रहरी प्रशासनको सहयोग लिएर दुर्गा प्रसाईंदेखि आङकाजीसमेतलाई ठिक पार्ने, परेको म बेहोर्छु’, बस्नेतले भनेका छन् । उसो त एमालेले नै पनि मंसिर ७ गते युवा संघले गर्ने वृहत जनप्रदर्शनको स्वामित्व लिएको छ । शनिवार केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी विशेष भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व लिएको हो ।
जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा समेत गरेको छ । भेलाको शुरुआत गर्दै संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको भन्दै कतिपयले व्यक्तिको लडाइसँग जोडेकोमा आपत्ति जनाए । उनले यो पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने बताए । यही सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले जानकारी दिइन् ।
प्रसाईले भने–‘काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्न लागिएको बताए । प्रसाईंले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’नामक अभियानमार्फत हुन लागेको ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ का लागि आक्रामक प्रचार गरिएको छ ।
जसका लागि अहिले फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युब, टिकटकलगायत सबैतिर दर्जनौँ एकाउन्टमार्फत प्रसाईंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । प्रदर्शनमा देशभरीबाट १० देखि १५ लाख व्यक्ति काठमाडौं उतार्ने प्रसाई समर्थकको दाबी छ । अभियानसँग ४ लाखभन्दा बढीले सदस्यता लिइसकेको प्रसाईँ निकटस्थको दाबी छ ।