
रुकुम पूर्व, मङ्सिर ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रूपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताउनुभयो ।

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नियमित रूपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पार्नुभयो ।
भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ । तराई–मधेशमा लामो समयसम्म सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उहाँले उल्लेख गर्नुभयो । वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रूपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताउनुभयो ।

नेपाल र भारतबिचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबिच विभिन्न नाका खोल्ने सहमति भएको उहाँको भनाइ छ ।
चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सोही परियोजनाअन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पार्नुभयो । सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उहाँको भनाइ छ ।
पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको बताउनुभयो ।