नक्कली नोटको बिगबिगी: कतै तपाईको हातमा त नक्कली नोट छैन? अब, होसियार हुनुहोस् !

काठमाडौँ । काठमाडौंबाट नक्कली नेपाली नोटसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपाल्चोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् ।

सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ । सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बूढानिलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो पनि पढ्नुहोस् :-


बेलाबेलामा बजारमा नेपाली रूपैयाँका नक्कली नोट फेला पर्छन्। केही दिनअघि पनि पाँच सय र एक हजार दरका नक्कली नोट बजारमा भेटिएको समाचार आए।  नेपाल राष्ट्र बैंक तथ्यांकअनुसार गत वर्ष एक हजारका ६ सय वटा र पाँच सयका ४ सय ५० वटा नक्कली नोट भेटिएका थिए।

यसपालि भने नक्कली नोट  नभेटिएको  बैंकको दाबी छ। नक्कली नोट  नभेटिए पनि त्यस्ता नोट कसरी चिन्नेबारे राष्ट्र बैंकले आफ्नो वेवसाइटमा जानकारी राखेको छ। झट्ट हेर्दा उस्तै देखिन्छ। नक्कली नोट भनेर कसरी चिन्ने त? हामीले यो प्रश्न नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलालाई सोध्यौं।

निरौलाले भने- नक्कली नोट चिन्ने दुई वटा तरिका छन्, हेरेर र छामेर। तपाईं एक हजारको नोटको दायाँ पुच्छर भागलाई उज्यालोतिर ठड्याएर हेर्नुस्, त्यहाँ लालीगुँरास देखिन्छ। जसलाई पानी छाप भनिन्छ।

उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

सुरक्षण धागो : सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।
उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’ भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

पाँच सय रुपैयाँ र एक सय रुपैयाँको नोट पनि करिब–करिब चिन्ने तरिका उस्तै हुन्छ । तथापि नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लेखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएकाबारे यकिन गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।


  • जाली नोटमा के हुन्छ ?

जाली नोटमा पानीछाप ‘वाटरमार्क’ र सुरक्षण धागो स्पष्ट देखिँदैन । सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायाँ तर्फ रहेको भागमा पानीछाप स्पष्ट देखिन्छ । कुनै जाली नोटमा पानी छाप देखिएपनि सफा, स्पष्ट र डिजाइन मिलेको हुँदैन । त्यस्ता नोटमा भद्दा पानी छाप प्रयोग हुने गरेको देखिन्छ ।

सक्कली नोट छाप्नुअघि नै कागजमा सुरक्षण धागो राखिने हुनाले ‘सेक्युरिटी थ्रेड’मा परेका अक्षर सजिलै पढ्न सकिन्छ । तर, जाली नोटमा सुरक्षण धागो मुनिका अक्षरहरु प्रायः छोपिएका हुन्छन् । सक्कली नोटमा रहेको सुरक्षा धागो उज्यालो तिर फर्काएर हेर्दा अंग्रेजी अक्षर ‘एनआरबी’ लेखिएको पढ्न सकिन्छ । तर, जाली नोटमा राख्रिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।


यो पनि पढ्नुहोस् :-


१ सय र ५ सय दरका नोटमा रंग परिवर्तन हुने सुरक्षाण धागो प्रयोग गरिन्छ । खतिवडाका अनुसार १ हजार दरको नोटमा चलायमान ‘थ्रि डी’ सुरक्षण धागो प्रयोग गरिएको छ । नक्कली नोटमा त्यस्ता विशेषता बनाउन सम्भव हुँदैन ।

नेपाल राष्ट्रबैंक ऐन–२०५८ (संशोधित) अनुसार जाली नोटको कारोबार गरेमा बिगो जफत गरेर तीन गुणासम्म जरिवाना वा ३ वर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था छ । मुलुकी अपराध संहिता–०७४ अनुसार ५ वर्षदेखी १० वर्ष कैद र पचास हजार देखी एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

%d