मीटरब्याजः बाहिरी जिल्लाका मात्रै नभई उपत्यकाबासी पनि पीडित, सरोकारवाला निकाय रमिते !

जहाँ सरकार कमजोर हुन्छ, त्यहाँ शोषक, सामान्ती, दलालीहरुको बिगबिगी हुन्छ । सरकार कमजोर भएपछि बेतिथि निम्तिन्छ, सेवा दिने नाममा आम सर्वसाधारणलाई ठगिन्छ, लुटिन्छ । अहिले काठमाडौं उपत्यकाको सुन पसलहरुमा यस्तै धन्दा चलिरहेको छ । एक तोला सुन राखेर ५० हजार रुपैयाँ दिन्छन् ।

तीन महिनामा निखान्न सकेन् भने त्यतिमै एक लाख बढी पर्ने सुन पचाइदिन्छन् । एकातिर यसरी सोझासोझीलाई सुन पसलेले लुटिरहेका छन् भने अर्कोतिर नयाँ सुन किन्न जानेलाई पनि सोत्तर बनाइरहेका छन् । मिसावट सुन बेच्ने गरिएको छ । तौलमा पनि हिनामिना गर्ने काम सुन पसलेद्धारा भइरहेको छ ।

सुन पसलेहरुको यो धन्दा पछिल्लो समय ह्वात्तै बढेको छ । पैसाको खाँचो परेकाले यसरी आफ्नो सुन धितो राखेका छन् । यसको फाइदा सुन पसलेहरुले उठाएका छन् । सामान्य अर्थमा भन्ने हो भने सुन पसलेले मीटरब्याजको धन्दा चलाइरहेका छन् । कानुन व्यवसायी, लेखनदास र जग्गा दलालीहरु अहिले सर्वसाधारणको घरको नक्सा र लालपूर्जाको प्रतिलिपि बोकेर हिँडेका छन् ।

उनीहरुले जतिपनिलाई ऋण दिएका छन्, तिनको जायजेथोको प्रतिलिपि हो यो । एक करोडको धितो राखेर २५ देखि ३० लाख दिने उनीहरुको दाउ त्यो धितो पचाउने हो । उनीहरुले कर्जा दिँदा ६ महिनाको टाइम दिन्छन्, फिर्ता गर्न सकेन् भने करोडपतिलाई रोडपति बनाइदिन्छन् ।

सबैतिरबाट सोझासाझीलाई सोत्तर बनाउने काम भइरहेको छ । मालपोतमा घरजग्गा नामसारी गर्दा लाग्ने खर्च पनि ऋणीलाई व्यहोर्न लगाइन्छ । ३० लाखमा पाँच लाख त राजश्व नै बुझाउनुपर्छ । कतिपयले सीधासाधीलाई बैंकको चेक दिएर घरजग्गा आफ्नो नाममा लैजान्छन्, पछि त्यो चेक नै साटिदैन् ।

फेरि आफ्नो सम्पत्ति आफ्नै नाममा ल्याउनका लागि अनेकौं झमेला खेप्नुपर्छ । मुद्दामा जानुपर्यो, खर्च लाग्छ, दुःख पाइन्छ । पैसा फिर्ता गर्दा पनि धितो फिर्ता नगरिदिएको धेरै उदाहरण छन् । देशैभर यस्ता घटना घटेका छन् । बाहिर जिल्लाका पीडितहरु न्याय खोज्दै उपत्यका छिरेका छन् भने उपत्यकाबासी आफैंपनि पीडित छन् ।

सुन पसल र दलालहरुले बैंकबाट पैसा निकालेर घरमा राख्ने । अनि मान्छे खटाएर सोझासाझीलाई ‘मुर्गा’ बनाउने । यो क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । कानुन व्यवसायी, लेखनदास र दलालहरुलाई खटाएर यस्तो काम गर्न थालिएको छ । जताततै यस्तो धन्दा मौलाएको छ ।

जसले पैसा व्यक्तिसँग भएको पुष्टि गर्दछ । बैंक तथा वित्तिय संस्थासँग हुनुपर्ने रकम घरमा राखेर व्यक्तिहरुले यसरी लगानी गरिरहेका छन् । अहिले काठमाडौंमा मीटरब्याज पीडितहरुको आन्दोलन चर्किएको छ । पूर्वदेखि पश्चिमसम्मका मीटरब्याज पीडित सडक संघर्ष गरिरहेका छन् ।

तर, राजधानीका पीडित कहाँ जाने ? जति नै पीरमर्का भएपनि उनीहरु चुप लागेर बसेका छन् । किन कि कानुनमा उनीहरु तल छन् । यति समयमा ऋण फिर्ता गरेनौं भने घरजग्गा खानुस् भनेर उनीहरुले पास नै गरेर दिएका हुन्छन् । सुनको हकमा त्यही छ । आफ्नो सम्पत्ति डुबेको पीडा उनीहरु खपेर बसेका छन् ।

कुनै पनि व्यक्ति वा संघसंस्थाले कर्जा लगानी गर्दा १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने कानुनी व्यवस्था छ । तर, यहाँ त मनलाग्दी छ । बाठाटाठा र शोषकीहरुले ३६ प्रतिशतसम्म ब्याजमा कर्जा लगानी गरिरहेका छन् । तोकिएको समयमा पैसा फिर्ता नगरेमा धितो नै खाइदिन्छन् ।

पञ्चायती कालमा पनि यस्तो शोषक थिएनन् होला, जुन अहिले छन् । अर्कोको घरबास उडाएर दलालहरु मोटाएका छन् । सरकार यति लाचार भयो कि के भन्ने ? न यस्ता शोषकीहरुलाई कारबाही गर्न सक्छ न पीडितहरुलाई न्याय दिन । जनता जतिसुकै ठगिऊन्, सरकार टुलुटुलु रमिता हेरेर बस्छ ।

बजारमा के भइरहेको छ ? जनता कुन अवस्थाबाट गुज्रिरहेका छन् ? सरकार मतलब गर्दैन् । जग्गा दलाली, लेखनदास र कानुन व्यवसायीहरु आफू कमिशन खानका लागि सीधासाधीलाई शोषकीहरुको हातमा पुर्याइदिन्छन् । त्यही शोषकले उनीहरुलाई ‘मर्नु र बाँच्नु’ को बनाइदिन्छ ।

पहुँच नभएका र आम्दानीको स्रोत नभएकालाई बैंकले कर्जा दिँदैन् । करोडको धितो भएर के गर्ने, घुस खुवाउन सक्दैन् । अर्कोतिर बैंकका कर्मचारी उनीहरुले चिनेका पनि हुँदैनन् । दलालहरुले त झुठ्ठा डकुमेन्ट बनाएर कर्जा लिन्छन् । धितो भएकाले पाउँछन् ? किन कि उनीहरुलाई नक्कली कागजात बनाउन आउँदैन् ।

घुस खुवाउन सक्ने तिनको अवस्था हुँदैनन् । बाठाटाठाले बिना धितो बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएका छन् । तर, धितो भएकाहरु मीटरब्याजीको चंगुलमा फसेका छन् । यो विषय त देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं प्रकरणबाट पनि पुष्टि भयो । बिना धितो एक अर्ब ऋण दिँदा अहिले बैंकका सञ्चालक प्रहरी हिरासतमा पुगेका छन् ।

यता, अर्को एक अर्बमा राखिएको धितो पनि कमशल भएको समाचारहरु बाहिरिएका छन् । बैंकले कर्जा दिने लक्षित व्यक्ति छन् । चौधरी ग्रुप, दुर्गा प्रसाईं, शेखर गोल्छा, मीनबहादुर गुरुङ्गलगायतका ठूला व्यापारीले बैंकबाट कर्जा पाउँछन् । करोड पर्ने धितो राखेर तिनले अर्बौं रुपैयाँ निकालेका छन् ।

सर्वसाधारण त जतापनि मर्कामा परेका छन् । सरकारले बेवास्ता गर्दा लाखौं जनताको बिल्लीबाठ भएको हो । बैंक तथा वित्तिय संस्थाले नै मीटरब्याजलाई प्रवर्द्धन गरे । बैंक ऋण नदिने अनि पैसाको खाँचो परेकाहरु कहाँ जाने ? मीटरब्याजीका होइन् ? मुलुकको मीटरब्याजको धन्दा सल्बलाउनुमा बैंकको ठूलो हात छ ।

बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएका दुर्गा प्रसाईं ‘ऋण नतिर्ने अभियान’ मा छन् । उनले ऋण तिरेनन् भने बैंक धरासायी बन्दैन् ? बैंकले त धितो लिलाम गरेर पनि आफ्नो पैसा असुल्न सक्दैन् । बैंक धरासायी बन्नु भनेको आम सर्वसाधारण डुब्नु हो । यता, मीनबहादुर गुरुङ्गलाई ललिता निवासको जग्गा काण्डमा अदालतले सजाय सुनाइरहेको छ ।

उनले पनि थुप्रै बैंकबाट ऋण लिएका छन् । सामान्य भाषामा भन्दा बैंकहरु घुसको पछाडि लागे । व्यापारीहरुले घुस दिने भएपछि उनीहरु धितो नहेरिकन धमाधम कर्जा दिए । यसमा कमजोरी फेरि नेपाल राष्ट्र बैंकको हो । राष्ट्र बैंकको काम बैंकहरुमाथि नियमन गर्नु हो । तर, राष्ट्र बैंक चुक्यो ।

बैंकहरुले जेसुकै गरेपनि राष्ट्र बैंक आँखा चिम्लेर बस्यो । बेलैमा राष्ट्र बैंकले नियमन गरिदिएको भए, आज बैंकहरु न जेल जानुपर्थ्यो न जनताको पैसा जोखिममा पर्थ्यो । बैंक तथा वित्तिय संस्थाविरुद्ध अराजकता फैलिएको छ । रातारात धनी बन्न खोज्दा बैंक चार्लमचुलुम्म जान थालेको छ ।

सर्वप्रथम त बैंक सञ्चालन गर्नुको उद्धेश्य के हो ? यो कुरा बैंकका सञ्चालकले बुझेनन् न सरोकारवाला निकायले बुझाउन सक्यो । राष्ट्र बैंकले लाइसेन्स दियो तर निगरानी राखेन् । जसले गर्दा बैंकहरुले जथाभावी लगानी गरे । सहकारीमा समेत बैंकहरुले कर्जा लगानी गरेका छन् ।

बैंकहरुले आठ प्रतिशतमा सहकारी सञ्चालकलाई कर्जा दिए, उनीहरुले मनलाग्दी लगानी गरे । जसको परिणाम अहिले सहकारी क्षेत्रमा देखिएको छ । सहकारी सञ्चालक पक्राउ र भागेसँगै बैंकमाथि त ‘कालो बादल मडारिएको’ छ । राष्ट्र बैंकले त केही गरेन्, अर्थ मन्त्रालय पनि चुपचाप बस्यो ।

बैंक तथा वित्तिय संस्थासम्बन्धी यत्रो ऐन छन् तर त्यसको केही काम लागेन् । बैंकले न राज्यको ऐनकानुन मान्यो न जनतालाई सेवा दियो । पुल बनेर ठग्ने काम मात्र गर्यो । तर, सरोकारवाला निकायले मतलब गरेनन् । बैंककै कर्मचारीले बचतकर्ताको खातामा भएको रकम चोरेको समाचारहरु अहिले व्यापक आइरहेको छ ।

जसले गर्दा बैंकमाथिको जनताको विश्वास उजाडिँदै गएको छ । अहिले एकाध बैंकमा मात्र समस्या आएको छ, राष्ट्र बैंक र अर्थ मन्त्रालयले बेलैमा ध्यान पुर्याओस् । बैंकहरु सही बाटो हिँडेको भए, आज न सर्वसाधारण सडकमा आउनुपर्थ्यो न बैंकहरु बद्नाम हुन्थें ।