कस्तुरीको बिना तस्करलाई उन्मुक्ति: जरिमानामा उन्मुक्ति गर्ने न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी होला त कार्वाही !

नेपालबाट कस्तुरीको बिना चोरी–सिकारीमा संलग्न कोरियन गिरोहका एक सदस्यलाई जरिवानामै उन्मुक्ति दिएको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । १५ वर्ष कैद सजाय हुने कोरियन नागरिक जंग जुन जुनलाई काठमाडौं जिल्ला अदालतले पाँच लाख मात्र जरिवाना हुने फैसला गरेको थियो । यो फैसला न्यायाधीश विनोद खतिवडाले सुनाएका हुन् ।

कार्यसम्पादन र न्याय निरूपणमा न्यायिक विचलन देखिएको भन्दै विश्वनीति प्रकाशमानसिंह पाख्रिनले गत १० फागुनमा उजुरी दर्ता गराएका हुन् ।

जिल्ला न्यायाधीश खतिवडाको इजलासले गत २१ असोजमा उनलाई दोषी ठहर गरी २६ असोजमा सजाय सुनाउँदै पाँच लाख रुपैयाँ मात्र जरिवानाको फैसला गरेको थियो । डिभिजन वन कार्यालय, काठमाडौंले १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरेको थियो ।

न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिएका हुन् ।

पाख्रिनले न्यायाधीश खतिवडामा कार्यसम्पादन क्षमता तथा खराब आचरण देखिएको भन्दै छानबिन गर्न माग गर्दै परिषद्मा उजुरी दिएका छन् । न्याय परिषद् ऐन, २०७३ ले न्यायाधीशमाथि कारबाहीको विभिन्न व्यवस्था गरेको छ । कार्यक्षमताको अभाव र बदनियत राखेको अवस्थामा परिषद्ले पहिलोपटक सम्बन्धित न्यायाधीशलाई सचेत गराउन सक्ने व्यवस्था छ ।

खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघनको हकमा भने न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले पदमुक्त गर्ने तथा सर्वोच्चका न्यायाधीशलाई भने संसद्को महाअभियोगबाट हटाइने संवैधानिक व्यवस्था छ । तर, मिडियामा आए जतिका कतिपय विवादमा समय लम्ब्याएर कारबाही गर्न ढिलाइ गर्ने र त्यसरी हुने कारबाही सामान्य सरुवा प्रकृतिका हुने पाइएको छ ।

न्यायाधीश खतिवडाले वन्यजन्तु तस्करीमा संलग्न कोरियन नागरिकलाई गत २६ असोजमा पाँच लाख सजाय सुनाएर सामान्य प्राकृतिको मुद्दाको जसरी न्याय निरुपण गरेको उजुरीमा उल्लेख छ । डिभिजन वन कार्यालय काठमाडौंले ति कोरियन नागरिकविरुद्ध कस्तुरीको बिना तस्करीमा संलग्न भएको आरोपमा १५ वर्ष कैद र १० लाख जरिवाना वा दुबै सजाय माग दावी गरिएकोमा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को मर्मविपरित फैसला गराई न्यायाधीशको काम कर्तव्य र अधिकारको दुरुपयोग गरी कार्यसम्पादन तथा न्यायनिरुपण गर्दा न्यायिक विचलन परी फैसला गरेको पाख्रिनले आरोप लगाएका छन् ।

  • कस्तुरीको विना चोरी–

तस्करीमा संलग्न भएका कोरियन नागरिकलाई दोषी ठहर गरे पनि ५ लाख धरौटीमा छाड्ने आदेश गरेपछि अनुसन्धान अधिकृतहरु पनि असन्तुष्ट रहेका छन् । अदालतले पाँच लाख रुपैयाँमा जरिमानामा छाड्न आदेश दिए लगतै कोरियन नागरिक स्वदेश फर्किसकेका छन् ।

कोरियन नागरिक जंग जुनजुनले नेपालमा सयौ कस्तुरी मारेर तस्करी गरेको अनुसन्धानबाट खुलेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाले २१ असोजमा कोरियन नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेपनि २५ असोजमा सजाय निर्धारण गर्दा भने ५ लाख जरिमाना मात्रै भराउने फैसला गरेका थिए । कोरियन नागरिक जुन कस्तुरीको बिना तस्करीको लागि नेपालमा १६ पटकभन्दा बढी आउजाउ गरेको तथ्य समेत खुलेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेर अनुसन्धान गर्दा कस्तुरीको बिना आफूले तस्करी गरेर लैजान लागेको स्वीकार समेत गरेका थिए ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० को खण्ड (क) अनुसारको अपराधको सजाय दाबी गरी ३१ भदौ ०७९ मा कोरियनविरुद्ध मुद्दा दायर भएको थियो । सो दफाअनुसारको अपराधमा कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १९ लाख जरिवनाा वा दुवै सजाय हुने प्रावधान छ । जसमा न्यूनतम पाँच लाख मात्र जरिवाना गरिएको हो ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० को खण्ड (क) अनुसारको अपराधको सजाय दाबी गरी ३१ भदौ ०७९ मा कोरियनविरुद्ध मुद्दा दायर भएको थियो । सो दफाअनुसारको अपराधमा कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १९ लाख जरिवनाा वा दुवै सजाय हुने प्रावधान छ । जसमा न्यूनतम पाँच लाख मात्र जरिवाना गरिएको हो ।

नेपालबाट कस्तुरीको बिना लिएर कोरिया जान लागेका जुन १३ असार ०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । उनले लगाएको जुत्ताभित्र बिना लुकाएर कोरिया लैजान खोज्दा उनको साथबाट सात सय १६ ग्राम कस्तुरीको बिना बरामद भएको थियो । सो परिमाणको बिना संकलन गर्न करिब १० वटा कस्तुरी आवश्यक हुने वनका अधिकारी बताउँछन् । साथै, बयानमा उनले सो बिना आफ्नो भएको र औषधिका लागि कोरिया लैजान लागिएको स्विकारेका थिए । सोही आधारमा उनलाई दोषी ठहर गरिएको थियो, तर सजाय भने न्यूनतम भएपछि अनुसन्धानमा आबद्ध अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।

  • अन्तर्राष्ट्रिय गिरोहका सदस्य हुन् जुन

कसुरदार जुन पछिल्लो आठ वर्षमा १६ पटक नेपाल आएका थिए । हरेकपटक आएको भोलिपल्टै कोरिया फर्कनुले उनी घुम्नका लागि नआएको प्रस्ट हुन्छ । उनी बिना तस्करीकै लागि यसरी बारम्बार आएको अनुसन्धान अधिकारीको दाबी थियो । सो गिरोहका नाइके पनि कोरियाकै नागरिक हानौक ली हुन् । जो कोरियाको वन्यजन्तु तस्करीका नाइके भएको खुलेको छ । उनी पनि पटक–पटक नेपाल आएका थिए । त्यस्तै, कर्म राप्ते गुरुङ भन्ने व्यक्तिले नेपालमा सहयोग गरेका थिए ।

ती व्यक्ति जुन पक्राउ परेलगत्तै भागेका थिए । उनको गाडी भने तनहुँमा फालेको अवस्थामा बरामद भएको थियो । उनीहरूलाई पनि प्रतिवादी बनाइएकोमा मुद्दालाई मुल्तबीमा राखिएको छ ।  फरार लीले कोरियामा आयुर्वेदिक औषधिको आवरणमा यस्तो धन्दा चलाउँदै आएको सूचना प्रहरीले पाएको छ । औषधि तथा महँगा अत्तर बनाउन बिनाको तस्करी हुने गरेको अनुसन्धानले देखाएका छन् । कोरियामा रहेका लीमाथि कानुनी कारबाहीका लागि प्रहरीले इन्टरपोलसँग रेड नोटिस प्रक्रिया अघि बढाएको छ ।

  • यसरी भएको थियो संगठित गिरोहमाथि अनुसन्धान

जुन पक्राउ परेको करिब दुई महिनासम्म अनुसन्धान अधिकारीले सो गिरोहका सदस्यबारे केही सूत्र फेला पार्न सकेका थिएनन् । जुनले आफ्नी माइजू र सानीआमालाई क्यान्सर भएकाले उनको उपचारका लागि बिना लैजान लागेको बयानमा बताएका थिए । कसले दियो भन्ने प्रश्नमा ठमेलको हिमालय जाभामा भेट भएका एक व्यक्तिले दिएको, तर नाम थाहा नभएको बताए ।

उनकै बयानअनुसार अनुसन्धान टोली हिमालय जाभामा पुग्यो । उनी त्यहाँ गएको पनि पुष्टि भयो । तर, उनलाई बिना दिने व्यक्ति भेट्टाउन सकेन । पछि उनी बस्ने होटेलमाथि प्रहरीले अनुसन्धान गर्‍यो । त्यस क्रममा ठमेलको फेयरफिल्ड मेरियट होटेलमा बसेको खुल्यो । त्यहीँ बिनाको कारोबार भएको थियो ।

होटेलको सिसिक्यामेराको माध्यमबाट भएको अनुसन्धानमा कर्म राप्ते गुरुङको पहिचान भएको हो । उनले नै कोरियामा बिना तस्करी गर्न नेपालमा सहयोगीको काम गर्दै आएका थिए । आफ्नो गाडी तनहुँमा बेवारिसे अवस्थामा राखेर फरार भएका थिए । उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

पक्राउ परेका कोरियन नागरिक जुनले विगतमा आफू अन्य सामग्रीको व्यापारका लागि नेपाल आउने गरेको बताएका थिए । तर, के सामग्री भन्ने खुलाउन नसकेकाले बिनाकै तस्करीका लागि आउने गरेको अनुसन्धान अधिकारीको दाबी छ । जुन पहिलोपटक सन् २०१४ को १ अप्रिलमा नेपाल आएका थिए । त्यसयता हरेक वर्ष करिब दुईपटक उनी नेपाल आउने गरेको अध्यागमनको ‘ट्राभल रेकर्ड’बाट खुलेको थियो ।

हिमाली जिल्लामा पाइने कस्तुरीको चोरी–सिकारी बढिरहे पनि गिरोहका नाइकेहरू पक्राउ परेका छैनन् । कोरोना लकडाउनको समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्तुरीको चोरी–सिकारी भएको थियो । त्यही कस्तुरीको बिना कोरिया तस्करी भएको अनुमान गरिएको छ । नेपालमा वन्यजन्तुको डिएनए परीक्षण गर्ने प्रणाली अझै बन्न सकेको छैन । यदि मृत भेटिएका कस्तुरीको डिएनए गरिएको भए बरामद बिनासँग म्याच गरेर पत्ता लगाउन सहज हुने अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी बताउँछन् ।